हाम्रो घर- संस्मरणमा

Nepali-Ghar-copy

दार्जीलिङ जिल्लाको खरसाङ महकुमाभित्र समुद्र सतहदेखि छह हजारको उँचाईमा खरसाङ बजारदेखि माथि डाउहिल पाखामा सन् १८७९ मा स्थापित अंग्रेजको पालाको खुबै प्रसिद्ध ‘भिक्टोरिया बोईज स्कूल’अवस्थित छ। १४४ वर्ष पार गरिसकेको यो पाठशालामा पठनपाठनका श्रेणी कोठाहरू, विद्यार्थी शयनकक्ष, मनोरञ्जन भवन, खेलकुद मैदान लगाएर यसको परिसर धेरै ठूलो क्षेत्रमा फैलिएको छ। शिक्षण-गैर-शिक्षण कर्मचारीहरूको निम्ति छुट्टाछुट्टै सुन्दर आवासगृहहरू छन्। चौथौ श्रेणीका कर्मचारीहरू जस्तै बेरा-बावर्ची, मसल्जी, माली, खिद्मतगर, सफाई-कर्मचारी, पानीवाला, चपरासी, पिउन, दर्जी, हजाम, चौकीदारहरूको पनि आवासगृहको व्यवस्था अँग्रेजहरूले गरिदिएका, जिर्णावस्थामा भएपनि अझ पनि छन्।

यो कलमकारको बाल्यजीवनको कलिला मनहरू यिनै नोकरधुरासित चिरपरिचित भएको हुनाले म मेरो संस्मरण त्यहीँ नीजको स्वर्णकालबाट आरम्भ गर्दछु। भिक्टोरिया स्कूलमा कार्यरत चतुर्थ श्रेणीका कर्मचारीहरूको आवासगृह- लामो रेलगाड़ी जस्तो माथि तल गरेर जम्मा आठवटा सरकारी नोकरधुराहरू छन्, जसको बनावट यस्तो छ–  लगभग १० फिट लम्बाई र दशै फिट चौड़ाई भएको सानो कोठा, ढुङ्गा र माटोले बनेको भित्ता, एउटा दैलो एउटा खिड़की, खिड़कीमा चारवटा ऐना, त्यसमा पनि खाताको पन्ना काटेर गुणाको चिन्ह बनाएर भातले टालेको, भित्रको उज्यालो बाहिर नजावोस भनेर। आफू बालाखै भएपनि यी दृश्यहरू मन-मस्तिष्कमा जरा गाड़ि बसेका छन्। यी घटना सन् १९६२ भारत-चीन युद्धका समयकालका रहेछन्। कोठाको भुँइ कसैको काठको पट्टाई लगाएको, कसैको गोबरले लिप्ने भुइँ, हाम्रो चाँहि पट्टाईको थियो।

सरकारी कोठाको बाहिरपट्टी अतिरिक्त कोठा गाँसेको, प्रायः सबैको नै थियो, आफ्नो जोहोमा गाँसिएको धुप्पीको बोलो बाकलहरूले तयार गरिएको प्रायः दुइहात भरिको चुल्हाकोठा अथवा हाम्रो भान्साघर। चुल्हाकोठामा दाउरा बालेर भोजन बनाउने तीनवटा चुम्का भएको माटोको चुल्हा, भातको डेक्ची, तिउनको कराई, दालको डल्ले भाँड़ा, तावा अँटाउने ठाउँ भएको। अर्को चुल्हा, माझमा फलामको टुक्रा राखेर भुप्रो नछिर्ने गरी बनाइएको तीन चुम्के चुल्हा, कमेरो माटोले सर्लक्क लिपेको, सफा। यही चुल्हामा दाउराको भुप्रोमा सेकेको भुक्के रोटी, पोलेको गोलभेंड़ा-सिद्राको अचार सम्झँदा अहिले पनि मुखभरि थुक आउँछ। चुल्हामाथि काठको भार, भारमा सुकेको दाउरा टम्म मिलाएर राखिएको, भारमुनी कतै चिम्फिङ, चिरौतो, फच्याङको पोका, कतै सुकेको मासु, टपरा सिउँने सिन्काको बिट्टा, मर्चाको पोको, कतै डल्ले खोर्सानी धागोमा बाँधेर बिजनको निम्ति झुण्डाई राखेको हुने गर्थ्यो। आफू सानो छँदा चाड़बाड़को समयमा, घरमा सुङ्गुर काटेको समयमा आफूले खाइ नसकेका बोंसोहरू सिन्कामा सिउरेर भारमुनि राख्ने गरेको झझल्को आज पनि मानसपटलमा रहेकै छ।

चुल्हाको दुवैतिर भारलाई थाम्ने धुप्पीको बोलो, वर्षौँदेखि धुवाँले खाएर निक्खुर कालो भइसकेको, पीरामा बसेर अड़ेस लाग्दा लाग्दा चिल्लिएको, टिलिक्कै परेको खाँबो, उस्तै कालो टिलिक्क टल्कने नुन राख्ने बाँसको ढुङरो अहिले सम्म झलझल आँखामा छ। भारमुनि एकपट्टी काठको सानो ताकमा मरमसालाका सानासाना डब्बाहरू, अहिले सम्झेर ल्याउँदा विशेष उस समय नानीहरूलाई खुवाइने बार्लीका पहेंला बट्टाहरू नै प्रायः देखिन्थे। अर्को पट्टि भित्ताको कुनाको बोलोमा सानो गोलो ताक, ताकमा कालो भइसकेको टुकी, धिब्री बत्ती, छेवैमा माचिस। त्यो धिब्री बत्ती शायद कुनै औषधिको बोतल हुनपर्छ जस्तो लाग्छ, त्यसको बिर्कोमा प्वाल पारेर थाङनालाई बटारेर मट्टीतेलमा आधाभाग चोबेर थाङ्नाको टुप्पो बिर्कोको प्वालबाट बाहिर निकालेर जलाइने धिब्री बत्ती, कसैकोमा पित्तलको टुकि पाइन्थ्यो भने कसैकोमा टिनको टुकी हुन्थ्यो हाम्रोमा चुल्हाकोठामा बोतलको धिब्री बत्ती थियो, साँझमा धिब्री बत्ती बालेपछि बत्तीलाई ढोग गर्ने चलन थियो, यो धिब्री बत्तीको प्रकाशले संसारै उज्यालो भएजस्तो लाग्थ्यो उसबेला।

कालोदाल, बगडाचामलको भात, सिलौटोमा लोहोरोले पिसेको गोलभेँडा र चिम्फिङको अचार, रातभरि छानामा राखेर शित र टुसारो खाएको, मगमग बास आउने रायोको सागको स्वादको निम्ति आज पनि म ललायित बन्छु

चुल्हा कोठामा बस्नको निम्ति दुइचारवटा पिरा अनि बोज्यूले बनाउनु भएको मकैको खोसेलाको चकटीहरू थिए। त्यत्तिखेर बिजुली बत्ती थिएन, भित्र कोठामा त्यत्तिखेर पाइने बोतलको मट्टीतेल हाल्ने त्यसमा सलेदो हालेको, छेउमा सलेदो माथि-तल गर्ने चाबी भएको अनि माथिबाट फुटने काँचको चिम्नी हुन्थ्यो, त्यसलाई हामी ल्याम्प भन्थ्यौँ। अलिक ज्ञान आएपछि त्यो फुट्ने ल्याम्प सफा गर्ने अभिभारा मेरो थियो, सासले हा! हा! गर्दै सफालुगाले छर्लङ्ग देखिने गरी टल्काइन्थ्यो। यो कलमकार भुइँ कक्षादेखि स्नातक र स्नातकोत्तरसम्म त्यही ल्याम्पको रोशनीमा बसेर अध्ययन गरेर समर्थ बनेकी हुँ… भन्ने सम्झँदा गर्वले आज छात्ती फुक्छ। चुल्हा अघिल्तिर एक कुनामा ठूलो पीरामाथि ताँबाको गाग्रोमा पिउँने पानी, कट र चरिअमिलोले टलक्क टल्काएको, जुन गाग्री आजपर्यन्त आफूसित पुज्यनीय पैत्रिक सम्पतिको रूपमा सुरक्षित छ। गाग्रोको छेवैमा सिलौटो-लोहोरो राखेको अर्को कुनामा बेलना-चौका, अगेनाको छेउमा फलामको चिल्लीसकेको कालो सोंते र चिम्टा अनि काठको फिर्के…छेवैमा चियाको छपनी….यही सर-सामानले सजिएको हाम्रो स्वादिलो, पौष्टिक भान्साघर, अहिले कहाँ पाउनु जस्तो लाग्छ।

चुल्हाकोठाको ठिक्क अघिल्तिर तर चुल्हासितै टाँसिएको बाकलले बारेको गोबरले लिपेको सानो सिकुवा…सिकुवाको अघिल्तिर मूल ढोका, बाकल र बाहिरपट्टी टिन ठोकेको चुक्कुल अनि आग्लो लाग्ने, मूल ढोका बाहिर बर्खामा बलेँसीको पानी थाप्ने बिसेरे टिन। भित्र सिकुवा र चुल्हाकोठाको माझमा मोरी वा जुठेल्नी थियो। मोरीको भुइँ अलि अलि बेलाइतीले टालेको, छेवैमा केही अल्गो बैठकमा कीटको बाल्टीमा पानी, पानी उगाउने सिल्बरको सेरे मग, जुठो भाँडा माझ्नु बाहिर जान नपर्ने, सानोको मेरो बुलुबुलु गर्ने अथवा नुहाउने ठाउँ पनि यही हो। जुठेल्नीको फोहोर पानी सोझै बाहिरको सार्वजनिक नालीमा जान्थ्यो, जो नोकरधुरामा बस्ने हामी वल्लोपट्टि पल्लोपट्टिकाहरू सबैले मिलेर साफ-सफाई गरथ्यौँ। घरको मोरीको सिधा माथि पट्टि एउटा काठको ताक, त्यो पनि बाकलको, त्यहाँ सिल्भरको थाल, डेक्ची र अरू भाँडाहरू राखिएका हुन्थे। त्यही भान्साघरमा बोज्यूले कसौँडामा पकाउनु भएको कालोदाल, बगडाचामलको भात, सिलौटोमा लोहोरोले पिसेको गोलभेँडा र चिम्फिङको अचार, रातभरि छानामा राखेर शित र टुसारो खाएको, मगमग बास आउने रायोको सागको स्वादको निम्ति आज पनि म ललायित बन्छु। त्यत्तिखेर भोक थियो भोजन थिएन, आज भोजन प्रशस्त छ तर भोक छैन- कस्तो विडम्बना!!!

दैलोबाट भित्र कोठामा पस्नसाथै देब्रेपट्टि भित्तामा काठको ताकमा देवताथान, जहाँ शिवशंकर भगवान, निलो गलामा सर्प बेह्रिएको, जटाबाट पानीको फुवारा निस्किरहेको फर्मा राखिएको थियो। छेउमा ताबाँको लोटामा सँधैभरि चोखो पानी चडाइएको हुने गर्थ्यो, ताँबाकै दियोमा साँझ बिहानको आस्था र भरोसाको बत्ती जल्थ्यो, उनै शंकर भगवानलाई साक्षात लाग्थ्यो, दुःख-कष्ट हर्ने, रक्षा गर्ने, व्याथा बुझ्ने। सानु छँदादेखि बाजेले एउटा मन्त्र सिकाउनु भएको थियो, जो यस्तो थियो, आजसम्म मुखस्त छ– ओंम श्री गणेशदेवता नमो नमः ओंमश्री लक्ष्मीनारायण देवता नमो नमः ओंम सरस्वतीमाता नमो नमः ओंम दुर्गापार्वती माता नमो नमः ओंम सूर्यभगवान नमो नमः ओंम शिवशंकर भगवान नमो नमः ओमं कुलदेवता नमो नमः।। ज्ञान आएदेखि यिनै मन्त्र जपेर ईश्वरमा आस्था र विश्वास लिएर अघि बढ़ेको जीवनले धेरैथरि देखायो, सिकायो तर आस्था टुटेन, विश्वास डगमगाएन।

देवताथानको विपरीतमा कोठाको आधा भाग काठले बारिएको थियो त्यहाँ बाजे बोज्यू सुत्ने ओछ्यान थियो, सुत्दा उनिहरूको आधा शरीर छेलिन्थ्यो, सिरानमा बाजेका पात्रोहरू राखिएका हुन्थे। त्यही काठको बारमा बाहिर माथिपट्टी काठको ताक थियो, ताकमा काँशका भाँडाकुँडा दुइचारोटा झर्के थाल, डबकाहरू, काँशाको करूवा, ताँबाको लोटा, वानगिलासहरू,  दुइटा ओँठ फर्केको काँशका गिलास राखिएका थिए, सबैको भात खाने आ-आफ्नो काँशको थाल थिए, मेरो चाँहि काँशको डबका थियो। बाजे-बोज्यूको ओछ्यानमुनि चामल इत्यादि राख्ने कालो सन्दुक जस्तो बक्सा थियो – आजकल मलाई यस्तो लाग्छ.. त्यहीँ कुबेर थियो, सह थियो, ईश्वरको वास थियो। देउता थान र बारको माझमा सिकर्मीले बनाएका एउटा काठका सानो टेबल र दुइवटा चौकीहरू थिए, जहाँ बसेर म सँधै आफ्नो नित्य पाठ घोक्ने गर्थेँ  दैलोको दाहिने तर्फ छेमा र म सुत्ने ओछ्यान। हाम्रो ओछ्यानमुनि आलु खनेको समयमा आलु फिँजाएर राखिन्थ्यो, एक छेऊमा बञ्चरो, बाम्फक, खुरे, मार्तोल, खुर्पे राखिएको हुन्थ्यो। सबैभन्दा उल्लेखनीय विषय यो कोठाभरिको माथि प्रायः सात फिट जति माथि भार पनि थियो। जहाँ हिउँद भरि जंगल गइ दाउरा ल्याएर त्यो भार टम्म भर्ने गर्दथ्यौँ र बर्खाभरि त्यही दाउराले खानापिना पाक्थ्यो। यिनै अमूल्य सामग्रीहरू भएको मायालु, श्रद्धालु हाम्रो घर, मेरो बाल्यकाल, हाम्रो सानो सुखी संसारलाई आज म हिजआज असाध्यै मिस गर्छु।

घरको पछिल्तिर सानो दुइ-तीन गराको कोठेबारी थियो, बारीको माथिल्लो कान्लामा फूलबगान थियो जहाँ विभिन्न प्रकारका फूलहरू जस्तै सालबिँया, पाखनबेत, पाउडर फूलहरू ढकमक्क फूल्थे। छेवैमा बाख्राकोखोर, छह-सातवटा बाख्राहरू, टाटनोमा सँधै घाँस, दाना हाल्ने अभिभारा बहन गर्दै आएकी नै थिएँ मैले। एकापट्टि कुख्राको खोर पनि थियो, साँझ बिहान चिङना माऊ छोड़्ने, बन्द गर्ने अनि अण्डा पार्ने पोथीले अण्डा पारेपछि त्यो अण्डामा तारिख लेखेर ठेगानमा राख्ने जिम्मावारी पनि मेरै थियो, यी अभिभाराहरूले मलाई कत्ति उत्तरदायि बनाए, त्यसको अनुभूति आज मसित छ। घरमा बाजे-बोज्यू, छेमा र म गरि चारजनाको परिवार थियौँ हामी। आमाको बाबु, मेरो बाजे अफिसको बड़ाबाबुकोमा माली काम गर्ने, बोज्यू गृहिणी, आमाकी बहिनी, छेमा डाउहिल स्कूलका प्रधानाध्यापिका श्रीमती ब्यालेनटाइनकोमा आया काम गर्ने। आमाले दोस्रो विवाह गरेर गएपछि बाजे-बोज्यू, छेमासित म बलाखादेखि बस्दै आएको, त्यत्तिखेर कक्षा सुनदेखि कक्षा चारसम्मको  डेभिस प्राथमिक पाठशालामा अध्ययनरत छात्रा थिएँ म। बिहान उठेर एक चिम्टी नुनमा दुइ थोपा खानेतेल चुहाएर त्यसैले दाँत माझेर कलमा गएर मुखहात धोएर आएपछि भगवानलाई ढोग गरेर खाजा खाइन्थ्यो। जे लगाएर सुतेको छ त्यही लुगा, जामा लाएर साथीहरूसित पाठशाला जान्थे म, युनिफर्मको चलनै थिएन, बाटोमा खराने, असारे को पोथ्राबाट डाँख्ला भाँचेर दतीवन बनाएर बाटोभरि दाँत माझ्दै जान्थ्यौँ।

बोज्यूलाई कपाल कोरीदिन नआउने भएकोले जिङ्रिङ्ङ कपाल लिएर पाठशाला जाँदा धेरैचोटी गुरूमाको बेत खाएकी घटना कहिल्यै विर्सन्न म। पाठशालाको सानो मैदानमा आँखा चिम्म गरेर, कलिला दुइ हातहरू जोड़ेर, श्रद्धाले यसरी प्रार्थना गर्थ्यौँ-

जय जय देवी चराचर सारे

कण्ठ विलम्बित-मुक्ता हारे

वीणा-रञ्जित पुस्तक हस्ते

भगवती-भारती-दवी नमस्ते

अहिले स्मरण गर्छु…खुबै गर्व लाग्छ, नेपाली साहित्यका धरोहर डा० पारसमणि प्रधानले सन् १९१७ को ताक सर्वप्रथम अध्यापन गरेका डाउहिलको ख्यातिप्राप्त डेभिस प्राथमिक पाठशालामा पढ्ने छात्रा हामी। उनै साहित्यसाधक मनीषीद्वारा रचित उक्त प्रार्थना, खुबै भक्तिपूर्वक तोते बोलीमा गाएर हामीले प्राथमिक पाठशाला छिचोलेका हौँ।

परिवारमा ठूलो मामा पद्मे सुनुवार (मुखिया) १९३९ देखि १९४५ सम्म भारतीय ब्रिटिश सेनामा कार्यरत रहेर दोस्रो विश्व युद्ध सकेपछि घर फर्की आएर भिक्टोरिया स्कूलमा चतुर्थ श्रेणी कर्मचारी भएकोलेनै हामी सरकारी नोकरधुरामा बस्थ्यौँ, मामा-माइज्यू बारीमा घर बनाएर, गाई पालेर अलग्गै बस्थे  सानो मामा, टीक नारायण सुनुवार (मुखिया) त्यो समयका होनहार विद्यार्थी, सन्त अल्फन्सस पाठशालामा नवम कक्षामा अध्ययनरत, परिवारको आशा-भरोसा, सुनौलो सपना… उसलाई पढ़ाउनको निम्ति अरू सन्तानले पढ्न नपाएका रे…भनि बाजे बोज्यू, छेमाबाट सुनेकी, उनै मामालाई केही दिनको कालो ज्वरोले टप्क्क टिपिलगेको कुरा बोज्यूले कहिलेकाँही मृत्युलाई सराप्दै, मन दुखाउँदै गर्नु हुन्थ्यो। सानोमामाले पढ्नु भएको एउटा पुस्तक ‘द्रव्यशाह’ आजपर्यन्त मसंग सुरक्षित छ, मैले वहाँलाई साक्षात देख्न सकिन तर त्यस पुस्तकमा मामाको सुन्दर हस्ताक्षर देखेर मलाई उनको विद्वताको अनुमान हुन्छ।

जाड़ो महिनाको समयमा हाम्रो पाठशाला छुट्टी भएको बेलामा बाजे सिकुवाको घाम भएको ठाउँमा टुक्रुक्क बसेर गाउँको कान्छा मंगर मामाबाजेसित बाघचाल खेल्दै मलाई पर चोरबाटोको कुइनेटोबाट लिसैलो माटो खनेर ल्याउनको निम्ति अह्राउनु हुन्थ्यो। एकलै जान डर लाग्ने हुनाले म साथी खोज्थेँ। साथीहरूमा शारदाको अजा, लतिकाका बाबुहरूलाई पनि लिसैलो माटो चाहिएको हुन्थ्यो हाम्रो बाजेलाई जस्तै, मटेङ्ग्रा बनाउनलाई। सबैको बारीमा आलु, मटर लगाएको समय कोहीबेला दुम्सी त कोही बेला बाँदरले दुःख दिन्थ्यो र बाजेहरूले मटेङ्ग्रा बनाएर क्याटिसले हिर्काउने गर्थे।

बाजे यस्तै सत्तरी पुग्नलागेको बुढ़ा, फुर्सद र साथी पायो कि बाघचाल खेल्न रूचाउँने, हुन पनि खुबै राम्रो बाघचाल खेल्थे उनी, मनोरञ्जनको नाममा त्यही बाघचाल नै थियो बाजेको। चौकुना कोरी चारपाटे कोठा बनाएपछि… सेतो दलसिङ ढुङ्गा चारकुनामा अनि अरू काला ढुङ्गाहरू अरूतिर राखेर खुबै ध्यानपूर्वक खेला आरम्भ हुन्थ्यो बाजेहरूको, प्रायः नै बाजे बिजयी नै भएको मैले देखेकी सानो छँदा। मैले ज्ञान सम्हालेदेखि बाजेले पात्रो पढ़ेको देखेकी हुँ। गाउँका सबै इष्टमित्रहरू शुभकार्य बिहे-बटुल, केटी भगाउने, घर बनाउने, न्वारन, भातखुवाई, छेवर, हराए-कोराएको, गाई किन्ने, पानी फुकाउने, पल्टन जाने, परदेश जाने, तीर्थयात्रामा जाने साइत र जोखाना हेर्न, हाम्रो बाजे भएकोमानै आउने गर्थे, बाजेले गरेको, हेरेको ठ्याक-ठ्याक पुग्छ भनि छरछिमेकहरू कुरा गर्थे। बिहान दुइ घण्टा बेलुकी दुइघण्टा माली काम गरेर फूल स्याहारेको बाजेले मासिक वेतन तीस रूपियाँ पाउँथे। छेमाले आयाकाम गरेर पाएको मासिक रूपियाँ तीस, जम्मा साठ्ठी रूपियाँले हाम्रो घरसंसार चलेको देखेको मैले, बेला बेलामा मामाले बीस रूपियाँ दिनुहुन्थ्यो। हाम्री बोज्यूले हाम्रो घरको आँगनबाट पर मंगरनी बोज्यूसित नाङलोमा चामलनिफन्दै हिजो सम्म आठना सेर खाएको चामल आज नौआना सेर भएकोमा खेद प्रकट गर्दैगफ गरेको मलाई हिजै जस्तो लाग्छ…।

छेमाले दिनु भएको पैसाले बोज्यूले बजारबाट थुन्सेभरी सौदापात गरेर ल्याउँथिन्l बोज्यू बजारबाट आउनु भएको देखेपछि खेल्दै गरेको भएपनि सबै छोड़ेर म घरतिर दौड़न्थे–  कहिले मुरैको डल्लो, कहिले अण्डा मिठाई, कहिले स्याऊ पाउने आशाले। मजेत्रोको कुनामा कहीँ मुसुरी दाल, कहीँ चिउरा पोको पारेर थुन्सेमा मिलाएर माझमा खानेतेलको बोतल राखिएको हुन्थ्यो, अलग्गै पोकामा मासु हुन्थ्यो, यसरी हप्तामा एकदिन मासुभात खान पाइन्थ्यो, कहिलेकाँही माछा। अवर्णनीय शान्ति र आनन्द थियो हाम्रो घरमा, चाकरी, बारी-विरूवा, बाख्रा, कुखारा, चुल्हा-चौका आ-आफ्नो लगनी बाहेक अन्य कुनै विषयको ठाउँ नै थिएन, आइतबार छुट्टी हुन्थ्यो, मिठो-मसिनो पाक्थ्यो, छेमासित बाइस्कोप हेर्न, राम्रो जामा लाएर खरसाङ बजार जान पाइन्थ्यो। बाजे-बोज्यू, छेमाको अगाध स्नेहले आफू आमा-बाबुको स्नेहबाट वञ्चित छु भन्ने कहिले भान भएन, मेरो बाल्यकालमा वहाँहरूले दिनु भएको संस्कार र मायाले म आजपर्यन्त आफूलाई भाग्यमानी ठान्छु, आभारी छु। आफू समर्थ भएपछि, मैले चाहे जस्तो वहाँहरूको सेवा गर्न सकिँन, क्रुर कालले उनीहरूलाई हरेर लग्यो। वहाँहरूको महान योगदानको निम्ति बाजे-बोज्यू, छेमा प्रति म आजीवन ऋणी रहनेछु, त्यो ऋणबाट म यो जीवनमा त कदाचित उऋण हुन सक्तिन।***

(लेखिका गोर्खा सांस्कृतिक संस्थानकी अध्यक्ष हुनुहुन्छ)

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *