इन्द्रजात्रा

00-1-Image-for-Indra-Jatara-Article

गज्याङगुजुङ परेको विश्व-ब्रह्माण्डको जाल र संजाल कसले बनाए भन्ने प्रश्नको सजिलो उत्तर इन्द्र हो। व्यक्तिलाई अड्काउने समाज पनि जालै हो, समाजले बनाएको नीतिको जालोदेखि व्यक्ति फुत्कनैसक्दैन। अचेल संगणक जालो (Computer Internet) धुमधाम फैलिएको छ। विपणि अर्थतन्त्र (market economy), विज्ञापन र उपभोक्तावादको जालोले पनि च्याप्पै समातेको छ। अणुमा पनि इलेक्ट्रोन-प्रोटोन-न्युट्रोनको जालो हुन्छ। वस्तु-वस्तु वा विचार-विचारका जालाले संसार बुनिएको छ। बुझ्नै नसक्ने फुस्किनै नसक्ने इन्द्रले बुनेको जाल मायावी हुन्छ भनिन्छ। यही नै माया वा लीला हो। यसलाई इन्द्रजाल नामको उपमा दिइएको छ। यो झुक्काउने मणिजस्तै हुन्छ र ‘मणि पाएँ’ भनी मक्ख पर्ने शत्रुलाई ठहरै पार्छ। यसलाई वज्र (दोर्जे) (vajra) भनिन्छ  रोमन लिपिको vajra (वज्र)-लाई हाम्राहरूले पढ्न नजानेर ‘भाज्रा’ भन्छन्। गान्तोकमा वज्र नामको सिनेमा हल छ। इन्द्रवज्रा नामको छन्द पनि हुन्छ। जादूलाई पनि इन्द्रजाल भनिएको पाइन्छ।

संसार मायाको बन्धनमा बाँधिएको कुरा गर्ने गीत, कविता, नाटक, सिनेमा, दर्शन कति छन् कति। यति भएर पनि मायालाई अझ बुझिसकेका छैनौँ। शङ्कराचार्यले माया के हो भन्न नसकेर ‘अनिर्वचनीयम्’ भनिदिए – वचनले भन्नै नमिल्ने। मायालाई सत्य मानौँ भने माया नाश नहुनुपर्ने। ज्ञान आए माया नासिन्छ। असत्य मानौँ भने जगत्को कारण नै माया हो। यसलाई भवरूपम् पनि भनिन्छ। सत्यासत्य भन्न नसकेरै शङ्कराचार्यले मायालाई अनिर्वचनीयम् माने। संसारमा इन्द्रले बुनेको मायाकै जाल छ अरे र ब्रह्माले पनि मायाकै सहायताले संसार बनाएका अरे भन्छन् हिन्दू र बौद्ध पुराण। बौद्धको शून्यता वा प्रतीत्यसमुत्पाद यही हो। बौद्ध शून्य भनेको गणितको zero वा भौतिकीको emptiness वा अभाव (Voidness), अस्तित्वहीनता (Nihilism) र सर्वनाश होइन। शङ्कराचार्येली ‘अनिर्वचनीयम्’-जस्तै शङ्कराचार्यभन्दा ११ सय वर्षअघिका नागार्जुनले ‘प्रपञ्चैरप्रपन्ञ्चतम्’ अर्थात् कुनै पनि शब्दले शून्यलाई प्रपञ्चित वा प्रकट गर्न नसकिने मानेका छन्। व्याख्याताहरूले यसलाई परिपूर्ण शून्य भनेका छन्। शङ्कराचार्यले मायाका कुरा गर्नुभन्दा प्राय: ७०० वर्षअघि नै नागार्जुनले शून्यका कुरा गरिसकेका थिए।

इन्द्रको रथको नाम स्वर्णाभ हो। स्वर्णाभ भनेको सुनको आभा हो। वाल्मीकि रामायणमा इन्द्रको सारथिको नाम मातलि रहेको छ। रावणसँग युद्धमा रामलाई दिइएको स्वर्णाभका सारथि मातलि नै छन्। इन्द्रको आसन अद्वितीय छ भनिन्छ। भोट जाने बेलामा पछ्याएर रोइकराइ गर्ने मुनालाई मदनले सर्काउँदै फकाउँदा इन्द्रको आसनको बखान गरेको छ –

“अनारदाना दाँतका लहर खोलेर हाँस न! तिमीले हाँसे म हाँक्नसक्छु इन्द्रको आसन।”

वर्तमानमा हिमाचल प्रदेशको सबैभन्दा उँचो पर्वतको नाम पनि इन्द्रासन छ। ६,२२१ मिटर अग्लो यो पाहाड़ हिमाचलको कुल्लू जनपदमा स्थित छ। चढ्न परेमा हिमालयका सबैभन्दा कठिन पर्वतहरूमा यो एउटा हो भन्ने मानिन्छ। जापानको क्योतो विश्वविद्यालयको अल्पाइन क्लबका पर्वतारोही सदस्यहरू १३ अक्टोबर १९६२-मा यसको टुप्पोमा पुगेका थिए। उनीहरू फर्केपछि २० अक्टोबरदेखि २१ नवम्बर १९६२-सम्म भारत-चीन युद्ध भयो।

पक्का रथमा चढ्ने इन्द्र कोमल र तरल पनि छन्। यसैले पानी वा वर्षाका देवता मानियो। इन्द्र रिसाए भल-पैह्रो जाने वा बाढी लाग्ने तर हर्षित भए जोत्न नसक्ने अहल्य भूमि पनि हल्य (हलो जोत्न सजिलो) हुने हुन्छ। इन्द्रलाई सुरेश, सुरेन्द्र, देवेन्द्र, देवेश, शचीपति, वासव, सुरपति, शक्र, पुरन्दर, देवराज पनि भनिन्छ। इन्द्रसितै जोड़िएर इन्द्रधनुष, इन्द्रजाल, इन्द्रिय, इन्दिरा, इन्द्रवज्र आदि शब्द उत्पत्ति भएका हुन्। इन्द्रको हात्तीको नाम ऐरावत हो। समुद्र मन्थन गर्दा पाएका १४वटा रत्नमध्ये ऐरावत पनि एउटा हो। चारवटा दाँत भएको दिव्य गुणयुक्त सेतो हात्ती मन पराएर इन्द्रले लिएका थिए। इरा भनेको पानी हो। समुद्रबाट पाएको हुनाले त्यस हात्तीलाई ऐरावत भनिएको थियो। इन्द्रको वाहन हुनाले त्यस हात्तीलाई इन्द्रहस्ति वा इन्द्रकुञ्जर पनि भनिन्छ।इन्द्रलाई देवताहरूका अधिपति मानिन्छ। यिनी छली पनि थिए। यिनको छलदेखि जोगिन फकाइफुस्लाई गर्नुपर्दथ्यो। फकाउनसके फुरुक्क पनि भइहाल्दछन्।

इन्द्रलाई आर्यले गौण रूपमा आफ्नो युद्ध-देवता मान्दैगए। ल्याटिन शब्द अरिअनुस र अरिआना तथा ग्रीक शब्द आरिया र अरेइआ शब्द आर्यसित मिल्दछन्, यिनीहरूको अर्थ हो पुरानो पर्शिया वा आजको ईरानमा रहने मानिस। अङ्ग्रेजले आर्यको अर्थ बाहिरबाट भारतमा पसेर राज गर्ने र संस्कृत बोल्ने विदेशी गोरे भनी प्रचार गरे। यसको अर्थ इन्द्रलाई पुज्ने मानिसका समूह यूरेशियाबाट यस देशमा आए। राज गर्न सजिलो पार्न उत्तर भारतीयलाई अङ्ग्रेजले भने ‘हामीजस्तै तिमीहरू पनि बाहिरबाटै आएका हौ’। आर्य र अनार्य भनी भेदको अवधारणा भारतमा प्रचार गर्ने उनीहरू नै भए। हुन पनि आर्य ब्राह्मणहरूले रचेका ग्रन्थमा राक्षस, दानव, दैत्य, अनार्य, असुर, किरात, नाग, दस्यु, पिसाच, निषाद, द्रविड़ आदि भारतीयलाई खलनायक नै बनाएका पाइन्छन्।

१४औँ शताब्दीको नेपालका प्रतापी राजा जयस्थिति मल्लले नेवारहरूलाई आर्यकरण गरे। भारतबाट रघुनाथ झा, रामनाथ झा, कीर्तिनाथ उपाध्याय, महिनाथ भट्ट आदि विद्वान् झिकाई मनुस्मृतिमा आधारित समाजको स्थापना गरी नेवारहरूलाई ४ वर्णमा बाँड़िदिए। यसरी हिन्दू देवताहरू नेवार समाजमा प्रिय बन्दैगए। ऋग्वेदका १०,५५२ श्लोकमध्ये ३,५०० अर्थात् ठीक एक-तिहाई श्लोक इन्द्रसित सम्बन्धित छन् भन्ने कुरा वेदाध्येताहरूले गरेका छन्। ती वर्णनअनुसार इन्द्रको मानव आकृति रूप चित्रण हेरिरहूँजस्तो छ। कथामा विशाल शरीर, गतिला हात र खँदिलो भुँड़ी भएको उल्लेख पाइन्छ। उनको हाँसिरहेको ओँठ र तन्किएका गालाको पनि वर्णन पाइन्छ। उनको वर्ण केश हरियो तथा दाह्री पनि हरियो थियो भनिन्छ। आफ्नो इच्छाले विविध रूप धारण गर्न सक्दथे। ऋग्वेदले ‘निष्टिग्री’ अथवा ‘शवसी’ नामक गाईलाई उनकी आमा भनेको रहेछ। बाबु रहेछन् ‘द्यौः’ वा ‘त्वष्टा’। एक ठाउँ उनलाई ‘सोम’-बाट उत्पन्न पनि भनिएको छ। उनको जन्म हुँदा द्यावा-पृथ्वी काँपिउठेकी थिइन् अरे। कश्यप र अदितिको छोरो भनिएको त धेरै ठाउँ पढ्न पाइन्छ-

इन्द्र कश्यपका छोरो हुन्। कश्यपका १३-भन्दा धेर पत्नी थिए। तीमध्ये अदिति र दिति पनि थिए। अदितिबाट दाजु आदित्य र उनी प्रमुख हुन्। दितिका सन्तान दैत्य भए। अदिति र दितिबाहेक अन्य पत्नी दनुका ६१ पुत्र दानव, अरिष्टाका गन्धर्व, सुरसाका राक्षस, कद्रूका नाग आदि जन्मे। इन्द्रका सौते भाइ हिरण्यकश्यप (हिरण्यकशिपु), अर्को भाइ हिरण्याक्ष अनि बहिनी सिंहिका (होलिका) हुन्। हिरण्याक्षलाई विष्णुले वराह अवतार लिएर वध गरेका थिए भने हिरण्यकश्यपलाई पछि नृसिंह अवतार लिएर विष्णुले नै मार्नु परेको थियो। हिरण्यकश्यप मरेपछि प्रह्लादले सत्ता सह्माले। प्रह्लादपछि उनको छोरो विरोचनलाई असुरहरूका अधिपति बनाए। विरोचनपछि उनका पुत्र महाबलि असुराधिपति बने। अग्नि (आगो) र पूषन् (सातवटामा एउटा घाम)-लाई इन्द्रका दुइजना भाइ भनिएको छ, आदित्य दाजु। यी तीनबाहेक विवस्वान्, अर्यमा, पूषा, त्वष्टा, सविता, भग, धाता, विधाता, वरुण, मित्र र त्रिविक्रम (भगवान् वामन) पनि भाइ थिए। यी सबै भाइ सुर वा देव थिए। शची इन्द्रकीकी पत्नी हुन्। इन्द्रसित बिहा भएपछि शचीलाई इन्द्राणी भनियो। इन्द्र र इन्द्राणीका दुइ छोरा वसुक्त तथा वृषा ऋषि जन्मे। ती दुइले थुप्रै वैदिक मन्त्रहरू रचेका छन्। मरुद्गण उनका मित्र तथा सहायक हुन्। इन्द्रलाई वरुण, वायु, सोम, बृहस्पति, पूषन् र विष्णुसित राखेर युग्म रूपमा अर्थात् डबल रोलमा कल्पित गरिएको पनि पाइन्छ – इन्द्र-अग्नि, इन्द्र-वरुण, इन्द्र-वायु, इन्द्र-सोम, इन्द्र-बृहस्पति, इन्द्र-विष्णु, इन्द्र-पूषण। यी सबैसित इन्द्रका समानता र भिन्नता देखाइएको पाइन्छ। दाइ-भाइ इन्द्र र वरुणचाहिँ साह्रै प्रसिद्ध छन्। बाधकहरूलाई नासेर यी दुइले संसारलाई हावा र पानी पुऱ्याएका कथा छन्। वरुणलाई सुन्दर, मिलनसार, क्षमाशील, औषधस्वामी, वीर, बुद्धिमान्, दया-दण्डज्ञ मानिएको छ। इन्द्र एक वृहदाकार देवता छन्। उनको शरीर पृथ्वीको विस्तारभन्दा दश गुना ठूलो हुनसक्छ भनेर सर्काएर सर्वाधिक शक्तिमान् सिद्ध गर्न खोजिएको पनि पाइन्छ। पहिले यिनलाई सम्पूर्ण जगत्‌का एक मात्र शासक तथा नियन्ता मानिन्थ्यो। इन्द्रले कम्पायमान भूतल अनि चलायमान पर्वतलाई पनि छपक्क पारी तह लाइदिन्थे।

सोमरस इन्द्रको परम प्रिय पेय हो। सोम भनेको जून, स्वर्ग, शितल वा अमृत हो। किरगिज़स्तान र उज़बेकिस्तानमा चल्ने मुद्रा पनि सोम हो। सातामा एउटा सोम नामको वार पनि हुन्छ – सोमबार वा चन्द्रवार। संगीतमा एउटा रागको नाम सोम हुन्छ, जसलाई मालकोश रागको छोरो पनि भनिन्छ। सोम नामको एक किसिमको प्राचीन लताबाट बनेको रस वैदिक ऋषिहरूले मादक पदार्थका रूपमा सेवन गर्दथे। इन्द्रले विकट रूपले सोमरस पान गर्दथे। आफ्नै गुरु बृहस्पतिकी पत्नी भगाएर लाने अशिष्ट र उपद्रवी भएर पनि सोमलाई नै ताराहरूमा श्रेष्ठ तारेश (जून) मानियो। सोमबाट इन्द्रलाई स्फूर्ति प्राप्त हुँदथ्यो। उनी हत्तपत्त मात्दैन थिए। माते पनि घर परिवार वा इष्टमित्रलाई सताउँदैनथे। बरू रमाइलो गर्दथे। रक्सी खाएर जिउ बिगार्दैनथे। उनी रोगी थिएनन्। हट्टाकट्टा थिए। पास उठाउने झुसेमुसे रक्सी पिउने उनको बानी थिएन। राम्रो र नराम्रो रक्सी हेर्नबित्तिकै चिन्दथे। वैदिककालमा विभिन्न थरीका फलफूल र जड़ीबुटीका रस झिकेर आसव (मदिरा वा अर्क वा रक्सी) बनाइन्थे– फूलको रक्सी फूलासव, फलको रक्सी फलासव, गुँड़को रक्सी शर्करासव, महको रक्सी भ्रमरजासव वा कुसुमासव, द्रव्यको रक्सी द्रव्यासव आदि। औषधिका रूपमा पनि वारुणी वा अर्क (ड्रग) प्रयोग गरिन्थे। असुरहरूचाहि खान नजानेर अतिलती (ड्रग एडिक्ट/एल्कोहोलिक) हुन्थे। इन्द्रमा एडिक्सन थिएन। उनको लागि अर्क स्फूर्ति-प्रदायक पेय थियो। वृत्रसित युद्ध गर्नुपर्दा पूरै तीनवटा सरोवरमा सञ्चित सोम पिएर सोमरहित पारिदिएका थिए। ऋग्वेदको दशम मण्डलको ११९औँ श्लोकमा सोम पिएर मदविह्वल बनीकन स्वगत भाषण गरेको र त्यहाँ वीर-कर्म र शक्तिबारे अहम्मन्यतापूर्वक वर्णन गरेर सोमलाई सदुपयोग गर्नुपर्ने निदेश दिएका छन्। सोमप्रति विशेष आग्रहका कारणले उनलाई सोम अभिषव गर्ने अथवा सोम बनाउने यजमानका रक्षक मानिएको छ। नेवारहरूले इन्द्रलाई वारुणी अर्पण गरेको कारण यो पनि हुनसक्छ। इन्द्रजात्रामा सोमको उपयोग गरिन्छ। सोमले इन्द्रजस्तै शक्तिवान् बनिने तर शक्तिलाई सृजनामा सदुपयोग गरिने वरदान मागिन्छ। सोम सचेतनताका लागि उपयोग गर्नुपर्ने तर अचेत हुन निषेध हुने विश्वास गरिन्छ। वेदमा सुरा पिउन जान्नेलाई सुर तर सुरा पिउन नजानेर भक्कु पिउने र दुष्कर्म गर्नेलाई असुर मानिएको छ। शरीर र विचारको सुर अर्थात् टिउनिङ मिलाउनको लागि सुरा उपयोग गरिन्छ तर टिउनिङ बिग्रिए असुरा हुन्छन्। सुर मिले आनन्द आउँछ, सुर नमिले संगीत पनि झर्कोलाग्दो हुन्छ। मान्छे पनि संगीतजस्तै हो। रमाइलो वा इन्टरेस्टिङ हुन जान्नुपर्दछ। असुर त बोरिङ हुन्छ।

कत्ति हजार वर्षअघि घामबाट टुक्रिएको पृथ्वी आगो थियो अरे तर सेलाएर हिउँ भयो भनिन्छ। आजभन्दा प्रायः १२-१३ हजार वर्षपहिले सम्पूर्ण धरती हिउँले ढाकिएको थियो। तीमध्ये केही भूमि बाँचेको थियो। हिउँ नभएको जग्गामा एउटा देवलोक अर्थात् इन्द्रलोक वा स्वर्गलोक थियो। त्यो लोक हिमालयदेखि उत्तरमा थियो। त्रिविष्टप पर्वत भनिन्थ्यो। त्रिविष्टपबाट तिब्बत बनियो। सबै देवता, गन्धर्व, यक्ष अनि अप्सरा आदि देव तथा देवसमर्थक जाति हिमालयतिरै बस्दथे। प्रारम्भमा हैमवत्‌वर्ष भनिएको भारतवर्षका चुनिएका केही जग्गामा नगरहरू निर्माण भए भने बाँकी सम्पूर्ण भारतवर्त समुद्रका जल र भयानक वनजङ्गलले भरिएको थियो। जङ्गलतिर अन्य विभिन्न जाति प्रजाति निवास गर्दथे – नाग, वानर, किरात, रीछ, मल्ल, किन्नर, राक्षस आदि। उक्त सबै ऋषि कश्यपकै सन्तान थिए पनि भनिन्छ। वेदका नृशंसशास्त्रीय अध्ययनहरूले त अझ के-के भन्छन्-भन्छन्।

पुराण रचिनुभन्दा अघि स्वर्ग पृथ्वीमै थियो। पछि जो पनि त्रिविष्टप पुग्ने बाटा बनिए। खुरुखुरू स्वर्ग जानेहरू देखेर पुराणकार पुरोहितहरूले मतो मिलाएर स्वर्गलाई अलोकमा रहेको देखाए। अलौकिक भयो। मरेपछि आत्मा त्यहाँ पुग्नुपर्ने बनाए। गरुड़ पुराणमा रोमान्टिक कविताजस्तो स्वर्गको बयान छ। यसबारे विभिन्न शोध भइसकेका छन्। वैदिक र पौराणिक कुरा भए पनि कति ऐतिहासिक र वैज्ञानिक पनि छन्। नबुझी आलोचना गरिहाल्नु हुँदैन।

सुर अर्थात् देवताहरूका अधिपति इन्द्र, गुरु बृहस्पति र विष्णु परम इष्ट थिए भने अर्कोतिर असुर अर्थात् दैत्यका अधिपति हिरण्याक्ष र हिरण्यकश्यप अनि पछि विरोचन बने। असुरका लागि गुरु शुक्राचार्य अनि महादेव शिव परम इष्ट छन्। देवताहरूका भवन, अस्त्र आदिका निर्माणकर्ता विश्वकर्मा थिए भने असुरहरूका निर्माणकर्ता मयदानव। इन्द्रका भाइ वरुणदेवचाहिँ सुर र असुर दुवैका प्रिय थिए। शङ्कर भगवान् पनि पछि सुर-असुरकै प्रिय बनेको कथा रचिए।

सेतो हात्तीमा चढ्ने इन्द्रको प्रसिद्ध आयुध (शस्त्र) वज्र हो। जसलाई विद्युत्-प्रहारसित अभिन्न मान्नसकिन्छ। इन्द्रको वज्र ‘त्वष्टा’ नामक देवताले बनाएका थिए। इन्द्रको वज्रबारे कैञौ कविता लेखिएछन्, पछि तिनै कविता लिएर इन्द्रवज्रा छन्द पनि बनियो। इन्द्र मेघ र बिजुलीको माध्यमबाट आफ्ना शत्रुमाथि प्रहार गर्ने क्षमता राख्दथे। इन्द्रलाई कतैकतै धनुष-बाण तथा अङ्कुशधारी पनि देखाइएको पाइन्छ। उनको रथ हो स्वर्णाभ। दुइवटा हरिया वर्ण भएका घोड़ाले तान्ने त्यो रथ देव-शिल्पी ऋभुले बनाएका थिए। स्वर्गमा इन्द्रको प्रासाद भगवान् विश्वाकर्मले बनाएका थिए। महाभारत युद्धमा इन्द्रले आफ्ना वरदपुत्र अर्जुनलाई रथ दिनाका साथै छल गरेर कर्णका कर्णकुण्डल र छात्तीको कवच छिनेका थिए।

इन्द्र आफ्ना पूजकका सदा रक्षक, सहायक अनि मित्र रहेका छन्। उनले दस्युहरूलाई बन्दी बनाएर तिनीहरूको भूमि आदि आफ्ना भक्तहरूबिच बाँड़िदिएका थिए। अचेल चोर-डाकुलाई दस्यु भनिन्छ। दस्यु प्राचीनकालको एउटा अनार्य जाति पनि हो। आर्यले चोर ठान्ने दस्युहरूलाई इन्द्रले पराजित गरेको कथा छ। वैयाकरण यास्कले दस्यु शब्दलाई क्षय गर्ने अर्थमा निरुक्ति गरेका छन्, अतः जसले रसलाई क्षय गर्दछ अनि यज्ञलाई नष्ट गर्दछ, त्यही दस्यु हो। संसारका सबै रस चुसेर मेघले माथि लैजान्छ, यसकारण साँचो दस्यु मेघ नै हो। वेद भन्दछ – ‘इन्द्रले दस्यलाई निचोरेर तल झार्दछ’। यसको अर्थ हो इन्द्र अर्थात् विद्युत वा सूर्यले मेघबाट पानी पराइदिँदछ। पानी चाहिएर आहुति गर्नेहरूलाई इन्द्रले धन-सम्पत्तिले मनग्गे बनाइदिन्थे। उनको यस्तो दानशीलताले गर्दा उनको उपाधि ‘मघवन्’ (ऐश्वर्यवान्) पनि छ। यस प्रकार इन्द्र ऋग्वेदका सर्वप्रधान देवता ठानिए। उनीबारे मैक्समूलरले सूर्यका वाची, रौथले मेघ र विद्युत्देवता, बेनफेले वर्षाकालिक आकाशका प्रतीक, ग्रासमनले उज्ज्वल आकाशका प्रतीक, हपकिन्सले विद्युतका प्रतिरूप अनि मैकडोनलले तथा कीथ आदि पाश्चात्य विद्वान्‌का साथै आचार्य बलदेव उपाध्याय आदि भारतीय विद्वान्‌हरूले वर्षाका देवता मानेका छन्।

ऋग्वेदले भव्य चित्रण गरेका देवता इन्द्र थिए। वैदिककालमा इन्द्रको धेरै ठूलो मान थियो। पछिल्ला वेद र पुराणहरूले अरू-अरू देवताका परिकल्पना र प्रतीकमा वर्णन गर्दैगए। यसरी इन्द्रको महत्त्व घट्दै गयो। यिनी ऋग्वेदका सर्वाधिक लोकप्रिय र महत्त्वपूर्ण देवता हुन्। मुख्य रूपले यिनी वर्षाका देवता हुन्। अनावृष्टि अथवा अन्धकाररूपी दैत्यसित युद्ध गर्थे भनिन्छ तथा रोकिएका पानी र प्रकाशलाई मुक्ति दिँदथे। ऋग्वेदको मण्डल ८ सूक्त ९६-का श्लोक १३, १४, १५ र १७-मा गोरे आर्य इन्द्रले काले अनार्य असुर कृष्णलाई पराजित गरेको उल्लेख पाइन्छ। यस्ता इन्द्र पुराणकालदेखि प्रमुख देवता नभएर उत्तरजात देवता बन्दैगए। रामायणमा रावणका छोरा मेघनादले इन्द्रलाई जितेको वर्णन छ। इन्द्रलाई जितेका हुनाले मेघनाद इन्द्रजीत नामले चिनिए। शिवपुराणमा शिवजीअघि इन्द्र सामान्य देवता देखिन्छन्। शिवजीबाट सञ्जीवनी विद्या पाउने होड़मा इन्द्रदेव हारेको शुक्राचार्यले जितेको कथा पनि छ। तिनै शुक्राचार्यसित इन्द्रकी छोरी जयन्तीले स्वयम्वर गरिन्। जयन्तीको इश्क जेहाद वा लभ क्रुसेड देखेर इन्द्र क्षुब्ध बनेको कथा पनि छ। भागवतमा कृष्णलाई शक्तिशाली देखाउन इन्द्र हारेको वर्णन पाइन्छ। यदुदेश बगाइदिन इन्द्रले पारेको घनघोर वर्षाबाट कृष्णले गोवर्द्धन पर्वत उचालेर जनतालाई जोगाएको कथा छ। भागवतको मान्यताअनुसार भगवान् श्रीकृष्णले इन्द्रलाई श्राप पनि दिए। यसैकारण इन्द्रदेवको पूजा गरिँदैन भनिन्छ। वैदिककालमा त इन्द्रको पूजा हुन्थ्यो। भागवत लेखिनुभन्दा अघि ‘इन्द्रोत्सव’ नामक पर्व उत्तर भारतमा हर्षोल्लाससित मानिन्थ्यो भनिन्छ। कृष्णकथा रचिएपछि इन्द्रोत्सव बन्द भएको थाहा लाग्दछ। उहिलेको इन्द्रजात्रा बन्द हुनमा पुराणहरू बलवती बनेको बुझिन्छ। बौद्धकालपछि हिन्दू पुनर्जागरण इतिहासमा शैव, वैष्णव, शाक्त, सौर्य र गाणपत्य प्रमुख सम्प्रदायका रूपमा देखिए पनि ऐन्द्रिय, वारुण्यहरू कदाचित अस्तित्वमा देखिएनन्। इन्द्रोत्सव परम्परा नेपालबाट पुनर्जीवित भएको हो। मल्ल आउनभन्दा धेरैअघि लिच्छवि राजा गुणकामदेवले कृष्णजात्रा, लाखेजात्रा, हिलेजात्रा आदि जात्रासँगसँगै इन्द्रजात्रा चलाएका थिए।

वास्तवमा इन्द्र बल र उत्साहका प्रतीक हुन्। यसैलाई नेवारहरूले झाँकी वा जात्रा निकाल्छन् – ञेया:। जात्रा पनि एक प्रकारको लोक रूपक हो। रूपको आरोप हुने रूपक। शास्त्रअनुसार रूपकका १० भेदमध्ये नाटक एउटा हो। त्यहाँ मूल रूप कृत्रिममा आरोपित गरेर अभिनय गरिन्छ। यहाँ देवता-राक्षस-भुत आदिका रूपको आरोप गरिएको हुन्छ। सजिलो गरी भन्नुपर्दा जात्रा भनेको पथ-नाटक होl अझ सजिलोमा बुझ्दा यो मोबाइल ड्रामा हो। यसमा संगीत, अभिनय, गायन र नाटकीय संवाद पनि हुन्छन्। जात्राको कुरा त ईशापूर्व पहिलो शताब्दीमा लेखिएको भरतमुनिको नाट्यशास्त्रमा पनि पाइन्छ। बाह्रौँ शताब्दीदेखि मुसलमान आएपछि संस्कृत नाट्य परम्परा बाधित भयो। तब लोकनाटकहरू अघि आए। नारी शोषण बढ्यो। महिलालाई नाटक खेल्न दिइएन। नरले नै नारीका अभिनय गर्ने भए। यसरी तेलुगुमा कुचिपुड़ी, हिन्दूस्थानीमा रामलीला, मराठीमा तमाशा र लावणी, नेपालीमा मारुनी आए। नेवार, ओडिया, बङ्गालीले जात्रा फेरि जगाए।

नेवार विषयका ज्ञाता समाजशास्त्री प्रोफेसर गोपालसिंह नेपालीले आफ्नो पुस्तक ‘नेवार्स’ (१९६५)-मा इन्द्रजात्रासित दुईवटा लोककथा जोड़िएका देखाएका छन्– १) एकपल्ट काठमाडौँ आएर अशोक पुष्प चोर्दै गरेको इन्द्रलाई स्थानीय नागरिकहरूले देखेर बन्दी बनाईकन जिउँदै जलाउने दण्ड दिनलागेका थिए। त्यत्ति नै बेला इन्द्रकी आमा दागिनी आएर प्राणदानको निवेदन गर्दा पो राजाले इन्द्रदेव भनी चिने। तब इन्द्रलाई मानमनितो गरी भव्य रथमा चढाएर जात्रा निकाले। २) नेवारहरूले बर्सेनि आफ्ना मृतक परिजनका आत्मा स्वर्ग पुराइमाग्न इन्द्रलाई बोलाएर जात्रा निकालेको हो। उनले इन्द्रजात्रासित भैरवी र कुमारी पूजा पनि जोडिएको संसूचना दिएका छन्। जात्रा निकाल्नअघि भैरवको प्रतीक ठूलो लिङ्ग बनाएर पूजिने गरेको पनि उल्लेख गरेका छन्।

नेवारी लोककथामा चाहिँ आमा वसुन्धरा छिन्। आमाको व्रतमा चाहिने पालिजाः स्वाँ (अशोक फूल) स्वार्गलोक र देवलोकमा नपाइने हुँदा छोरो इन्द्रलाई फूल लिन मर्त्यलोक पठाइन्। काठमाड़ौँका नेवारहरूले चोर भनी इन्द्रलाई बाँधे। छोरो छुटाउन आमा आउँदा पो इन्द्रदेव भनी चिने। तर छोरो छुटाउन केही अङ्गभूत प्रस्ताव (उपबन्ध = condition) मानिदिने अनुरोध गरे – नेपाल उपत्यका कृषि क्षेत्र हुनाले यहाँ धान पाक्न उपयुक्त जलवायु र धानका दाना (खसु र पु) दिने अनि यहाँ मरेका मानिसहरूलाई स्वर्ग लैजाने। यी प्रस्ताव मानेपछि मुक्त गरियो। त्यसपछि इन्द्रजात्रा थालनी भयो। जात्राकालमा इन्द्रको प्रतिमालाई डोरीले बाँध्ने चलन पनि छ। आर्य आफू सुर भएर हिमाली क्षेत्रका जनजातिलाई पनि असुर माने। आर्य देवतालाई पनि बन्दी बनाउनसक्ने सामर्थ्य नेवारसित थियो। फूलचोरको अभियोगमा आर्यदेव इन्द्रले पनि नेवारबाट दण्ड भोग्नुपऱ्यो। इन्द्रको प्रतापलाई प्रतिष्ठा गरी ससम्मान दण्ड दिइएको पर्व इन्द्रजात्रा हो। आर्यमाथि अनार्यको विजयको उत्सव पनि इन्द्रजात्रा हो।

इन्द्र जात्रा (ञेया:) निकालेर प्रजामा एकता ल्याउने प्रथा इसाब्द ७२३-मा लिच्छवि राजा गुणकामदेवले थालेका थिए। ञे भनेको काठमाडौँ र या: भनेको उत्सव हो। उनी तान्त्रिक पनि हुनाले स्वयम्भूमा लाखे खेलाउँथे भनिन्छ। यसै दिन अन्तिम मल्ल राजा जयप्रकाश मल्लले ईशा सम्वत् १७५६-मा कुमारीजात्रा पनि जोड़ेका थिए।

काठमाड़ौँमा सात दिन जात्रा अर्थात् पथनाटक प्रदर्शित हुने चलन छ। पहिलो दिन बाँसको लिङ्गोमा इन्द्रध्वज उत्तोलन गर्नुदेखि थालेर दिनहुँ इन्द्र, कुमारी, गणेश, भैरवका रूपकहरूमा देवीनाच, लाखेनाच, भैरवनाच, पुलुकिसिनाच गर्ने गर्दछन्। आचाजु र वज्राचार्य पूजारीहरूले पूजा गर्दछन्। इन्द्र र भैरवलाई चढाएको प्रसाद ऐला र समैबजी बाँड़्दछन्। अचेल तर गोर्खाजनको एकताको प्रतीकस्वरूप भारतमा पनि यो उत्सव चाखिलो बन्दैछ। भारतमा एउटा जात विशेष एकलकाँटे हुनसक्दैन। यहाँ सबै पर्व सबै जातका हुन्छन्। यहाँ अरू जात पनि इन्द्र र भैरवलाई ऐला र फलफूल चढाउन पुग्दछन्। यहाँ त इन्द्रजात्रा नेवारको मात्र पेवा हुँदैन। इन्द्रजात्रामा सबै जात रमाउँछन् र भाग लिन्छन्।

पहिले नेवारले चलाउने सुकुन्दा (कलश र नाग भएको दीयो), खादुलु (झुण्ड्याइने दीयो), पानस (बिचमा सलेदो ठाड़ो पारी बाल्ने दीयो) अचेल अरू जातका घरमा पनि चलाइन्छ। नेवारी व्यञ्जनमा अरू जातले पनि रुचि लिन्छन्। साझा पर्व भएको हुनाले सबैले मनाऊन् भनेर सिक्किममा एक दिने विदा पनि दिइन्छ। सिक्किमको जात्रामा चढाउने सुनको गजुर सिक्किमपति महाराज टासी नामग्यालले दिएका हुन् भन्ने सुन्नमा आएको छ। पहिले नामथाङका नेवारहरूले मात्र इन्द्रजात्रा मान्दथे। इसाब्द २०००-देखि सिक्किम नेवा सङ्गठन (अचेलको सिक्किम नेवा गुठी)-ले लिङ्गो उठाएर इन्द्रध्वज उत्तोलन गरीकन नामथाङमा विधिवत् इन्द्रजात्रा गर्नथाले। २०१०-देखि राजधानी गान्तोकमै इन्द्रजात्रा हुनथाल्यो। २०१२-देखि पुलुसिकि र लाखे पनि नचाउनथाले। पहिले नेता र अन्य प्रतिष्ठित व्यक्तिहरू जात्रामा भाग लिन आउँथे। बिस्तारै अरू जातका श्रद्धालुहरू पनि जात्रामा भाग लिन थाले। सिक्किममा एक दिने विदा सबै जातले पाउँदछन्। त्यसो हुनाले जात्रामा सबै जात जान पाउँछन्। यो एक दिने विदा औपचारिक सरकारी घोषणा हुनाले इन्द्रजात्रा सिक्किमको प्रादेशिक पर्व सिद्ध भएको छ। सिक्किममा ञेयाः (काठमाडौँ पर्व) नभनेर सिया: (सिक्किम पर्व) वा लिम्बूनामबाट सुया: (सुक्खिम पर्व) वा सिक्किमे भोटियामा डेयाः (डेमाजोङ पर्व) वा सिक्किमकै पुरानो नामबाट इयाः (इन्द्रकिल पर्व) वा राष्ट्रको नाममा इयाः (इन्दुदेश पर्व) भने पनि हुन्छ। सबैभन्दा राम्रो सिक्किम भारतको अङ्ग हुनाले इन्द्रजात्रा अब भारतीय पर्व पनि हो। तीज, सागादावा, पाङ लाब्सोल, लोसर, साकेवा, दसैँ-तिहारजस्तै इन्द्रजात्रा भारतभरिका गोर्खाले मनाए अझ राम्रो। रमाइलो पर्व सबैको गर्व।***

चित्रमा: नेवारी प्रस्तर प्रतिमा

साभार: कलाक्षेत्रम्, गुगल इमेज

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *