सोरेङ: सिक्किमको जुन रोड सबै भन्दा सुन्दर, फुलैफुलले भरेको उत्कृष्ट रोड हुन्छ उक्त रोडमा काम गर्ने प्रत्येक मजदुरहरुलाई श्रमिक दिवसको अवसरमा पचास-पचास हजार रुपियाँ पुरस्कार स्वरूप सरकारले प्रदान गर्ने मुख्यमन्त्री प्रेम सिंह गोलेले आज थर्पुमा घोषणा गरेका छन्। सिक्किमको सबै रोडहरु सुन्दर होस् भन्ने उदेश्य लिएर मजदुर-मजदुरबिच रोड उत्कृष्ट बनाउने प्रतिस्पर्धा होस् भनेर उक्त पुरस्कारको घोषणा गरेको मुख्यमन्त्रीले बताए। मुख्यमन्त्री प्रेम सिंह गोले आज श्रीजंगा याक्थुङ साक्थिम फोजुम्बोको ४३औं स्थापना दिवसको अवसरमा थर्पुमा सम्बोधन गर्दै थिए। मुख्यमन्त्री आज थर्पुमा मुख्य अतिथिको रूपमा उपस्थित थिए।
मुख्यमन्त्री पगोलेले सम्बोधन गर्ने क्रममा श्रीजंगा याक्थुङ साक्थिम फोजुम्बोको ४३औं स्थापना दिवसको शुभकामना व्यक्त गर्दै यो संस्थाले लिम्बु जातिको संस्कृति, भाषा-साहित्य, भेषभूषाको संरक्षण र सम्बर्द्धनको महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ भने। मुख्यमन्त्रीले अघि भने, संस्था बाँच्नु भनेको जाति बाँच्नु हो। यो संस्थालाई अझै अघि बढाएर लैजान पर्छ। संस्थालाई अघि बढाउनको लागि के गर्न सकिन्छ सरकार तयार छ। मुख्यमन्त्रीले संस्था जन्माउनुमा अहम भूमिका निर्वाह गर्ने संस्थापक सदस्य स्व. मन बहादुर सुब्बा र बितेर जाने सदस्यहरुलाई पनि सम्झाना गरे। एसकेएम सरकारले जात-जातलाई टुक्राउने काम गरेनौं। पूर्व सरकारले जात-जातिमा फुट लगाएर, जात-जातिमा विभाजित गरेर सत्ता चलाउथ्यो, राजनीतिक रोटी सेक्ने काम गर्थ्यो तर हामी जात-जातिलाई एकीकरण गर्ने काममा लागेको छौँ। वर्तमान सरकारले संघ-संस्थालाई राजनीतिदेखि माथि उठाएर स्वतन्त्र रूपमा काम गर्न दिएको छ। हाम्रो सरकारले कुनैपनि संघ-संस्थालाई आफ्नो जातीय कार्यक्रममा सत्तारूढ पार्टीको झण्डा लगाएर आउनुपर्छ भनेर जबर्जस्ती गरेका छैनौं।