६८औँ ग्र्यामी अवार्डः दलाई लामालाई पहिलो ग्र्यामी, के–पप र स्पिलबर्गको ऐतिहासिक उपलब्धि

dalai-lama-won-grammy-award

लस एन्जलस: विश्वका प्रतिष्ठित सङ्गीत पुरस्कार ग्र्यामीको ६८औँ संस्करणमा तिब्बती धर्मगुरु दलाई लामाले अडियोबुक, कथावाचन तथा स्टोरीटेलिङ रेकर्डिङ विधामा ग्र्यामी अवार्ड जितेका छन्। यो दलाई लामाको पहिलो ग्र्यामी हो। यस विधामा उनले अमेरिकी सर्वोच्च अदालतकी न्यायाधीश केतनजी ब्राउन ज्याक्सनलाई पछि पारे।
चलचित्र ‘के–पप डेमन हन्टर्स’ को गीत ‘गोल्डेन’ ले दृश्य माध्यमका लागि लेखिएको उत्कृष्ट गीत को ग्र्यामी जित्यो। के–पप कलाकार वा समूहले ग्र्यामी अवार्ड जितेको यो पहिलो अवसर हो। पुरस्कार ग्रहणका क्रममा गीतकारहरूले अंग्रेजी र कोरियाली दुवै भाषामा मन्तव्य दिए।
सङ्गीत चलचित्र विधामा ‘म्युजिक फर जोन विलियम्स’ ले ग्र्यामी अवार्ड हात पार्‍यो। यससँगै निर्देशक स्टिभन स्पिलबर्गले आफ्नो पहिलो ग्र्यामी जित्दै आधिकारिक रूपमा ईजीओटी (एमी, ग्र्यामी, टोनी र अस्कर सबै जित्ने कलाकार) बन्ने कीर्तिमान कायम गरे।
मुख्य समारोहअघि आयोजना गरिएको प्रारम्भिक पुरस्कार वितरण कार्यक्रम लस एन्जलसस्थित पीकक थिएटरमा सम्पन्न भयो। यस चरणमा कुल ८६ ग्र्यामी अवार्ड वितरण गरिएका थिए। समारोहका क्रममा केही कलाकारहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको आप्रवासन नीतिप्रति असन्तुष्टि व्यक्त गरे। अमेरिकी गायक शाबुजीले भावुक हुँदै आप्रवासीहरूले नै देश निर्माण गरेको बताएका थिए भने गायिका ग्लोरिया एस्टेफनले वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गरिन्।

About Author

Advertisement