१० करोडको माग गर्दै रणवीर सिंहलाई धम्की

IMG-20260221-WA0070

मुंबई: “१० करोड नदिए परिणाम भोग्नुपर्छ…”, १० फेब्रुअरीमा रणवीर सिंहको फोनमा धम्कीपूर्ण सन्देश आएपछि मुम्बई अपराध शाखा अनुसन्धानमा जुटेको छ। रणवीर–दीपिकाको बांद्रा ब्यान्डस्ट्यान्डस्थित बंगलालाई कडा सुरक्षामा राखिएको छ। साथै स्टार दम्पतीको सुरक्षा पनि बढाइएको छ। यसैबीच, अभिनेतालाई धम्की दिने विष्णोयी ग्याङका सदस्य विरुद्ध मुम्बई प्रहरीको अपराध शाखाले लुकआउट नोटिस जारी गरेको खबर सार्वजनिक भएको छ।
ग्याङ्स्टरहरूको गतिविधिले मुम्बईको सेलिब्रिटी क्षेत्रमा त्रासको माहोल सिर्जना भएको छ, मानौं नब्बेको दशकको छायाँ फेरि फर्किएको हो। प्रहरीमा उजुरी दर्ता गरेपछि १३ फेब्रुअरी, भ्यालेन्टाइन डे अघिल्लो दिन, रणवीर सिंहलाई फेरि अर्को धम्कीपूर्ण सन्देश प्राप्त भयो। रौँ ठाडो पार्ने अडियो क्लिपमा भनिएको थियो, “यस्तो हालत बनाउँछौँ कि सात जन्मसम्म सम्झिरहनेछौ।” यही सन्देशका आधारमा मुम्बई प्रहरीको अपराध शाखाले अनुसन्धान सुरु गरेको हो।
प्रहरी स्रोतका अनुसार रणवीर सिंहको फोनमा आएको उक्त अडियो नोट पछाडि एक कुख्यात ग्याङ्स्टरको हात रहेको छ, जसको बिश्नोई ग्याङसँग लामो समयदेखि सम्बन्ध रहेको बताइन्छ। अनुसन्धानका क्रममा ‘हैरी बक्सर’ उर्फ हरि चन्दको नाम अगाडि आएको छ। प्रहरीको दाबी अनुसार धम्कीपूर्ण सन्देशमा सुनिएको आवाज उसकै हो। जानकारीअनुसार यो पहिलो घटना होइन। ऊ विदेशमा बसेर भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग गरी यस्ता वारदात गर्दै आएको बताइएको छ।
अब उसविरुद्ध कडा कदम चाल्दै अपराध शाखाले लुकआउट नोटिस जारी गरेको छ। रणवीरका म्यानेजरको फोनमा आएको उक्त अडियो क्लिप प्रमाणीकरणका लागि पञ्जाब र हरियाणा प्रहरीलाई पठाइएको थियो, जसपछि मुम्बई प्रहरीको शंका पुष्टि भएको बताइन्छ। अडियोमा सुनिएको आवाज हैरी बक्सरकै भएको भनिएको छ। उसको निशानामा रणवीर सिंहसँगै निर्देशक रोहित सेठ्ठी पनि रहेको जनाइएको छ।
गत शुक्रबार एक व्यक्तिले आफूलाई ‘हैरी बक्सर’ भन्दै अडियो क्लिपमा भनेको थियो, “समयमै लाइनमा आऊ, नभए यस्तो हालत बनाउँछौँ कि तिम्रो आउने सात पुस्ताले सम्झिरहनेछन्। रणवीर सिंह, तिमीलाई मानिसहरूलाई सल्लाह दिन र प्रहरीमा उजुरी गर्न धेरै मन पर्छ। ठीक छ, उजुरी गर्यौ। कुनै समस्या छैन। देखाइदिन्छौँ। कान खोलेर सुन, तिमीसँग काम गर्नेहरू र तिम्रो म्यानेजरको सबै जानकारी हाम्रोसँग छ। उनीहरू कहिले, कहाँ जान्छन्, कहिले घर फर्कन्छन् र कहिले परिवारसँग समय बिताउँछन्—सबैमा हाम्रो नजर छ। अब सिधै तिमीलाई केही भन्ने छैनौँ, तिम्रा कर्मचारीलाई निशाना बनाउँछौँ। एक-एक गरेर सबैलाई मार्नेछौँ। अझै समय छ, लाइनमा आऊ।”
बिश्नोई ग्याङले यसअघि पनि धेरै घटनाको जिम्मेवारी लिएको छ। कहिले सलमान खान, कहिले रोहित शेट्टीको घरमा आक्रमण, त कहिले देशबाहिर क्यानडामा कपिल शर्माको क्याफेमा गोलीकाण्ड जस्ता घटनामा समेत यस ग्याङले जिम्मेवारी लिएको बताइन्छ। यहाँसम्म कि खुला पत्रमार्फत व्यवसाय बन्द नगरे मुम्बईमै आएर गोली चलाइने चेतावनीसमेत दिइएको थियो। अक्टोबर २०२४ मा दशैंका दिन महाराष्ट्रका नेता बाबा सिद्धिकको हत्या पछि पनि यस ग्याङले धम्कीपूर्ण सन्देश जारी गरेको थियो।
अब रोहित शेट्टी र रणवीर सिंहका सहयोगीहरूलाई व्हाट्सएपमार्फत आएको धम्की पछाडि पनि यही ग्याङका अर्का सदस्यको संलग्नता रहेको आशंका गरिएको छ। मुम्बईको फिल्मी क्षेत्रमा फेरि एकपटक भयको वातावरण सिर्जना भएको छ।

About Author

Advertisement