काेलकत्ता: वेष्ट इण्डिजले स्कटल्याण्डलाई ३५ रनको पराजित गरी टी२० वर्ल्ड कपमा आफ्नो अभियान शुरु गऱ्यो। शिमरोन हेटमायरको अर्द्धशतकपछि रोमारियो शेफर्डको यादगार ह्याट्रिकले स्कटिश टीमको सम्भावनाहरूलाई माटोमा मिलायो। शनिवार ईडन गार्डन्समा खेलिएको ग्रुप सी को म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै वेष्ट इण्डिजले २० ओभरमा ५ विकेटमा १८२ रन बनायो। जवाफमा स्कटल्याण्ड १८.५ ओभरमा १४७ रन बनाएर अलआउट भयो। म्याचमा पहिला ब्याटिंग गर्दै वेष्ट इण्डिजलाई ब्रेण्डन किंगले कप्तान शे होपसँग मिलेर पहिलो विकेटको निम्ति ५४ रनको पार्टनरशीप गरे। होपले १९ रन बनाए जबकि किंगले ३५ रनको योगदान दिए। यी दुईजना लगातार अन्तरालमा आउट भएपछि हेटमायरले जिम्मेवारी लिएर तेजीको साथ रन बनाए। उनले रोवम्यान पावेल (२४ रन) सँग मिलेर तेस्रो विकेटको निम्ति ८१ रनको पार्टनरशीप गरे। पावेल आउट भएपछि हेटमायरले रदरफोर्डसँग मिलेर स्कोर १७५ रनसम्म पुऱ्याए। प्लेयर अव् द म्याच रहने हेटमायरले ६ वटा छक्का र २ वटा चौकाको साथ ३६ बलमा ६४ रन बनाए। रदरफोर्डले २६ रन बनाए। स्कटल्याण्डका बलरहरूमा ब्राड करीले सर्वाधिक २ विकेट लिए। म्याच जित्न १८३ रनको लक्ष्यलाई खेदो गर्दै स्कटल्याण्डको शुरुवात खराब रह्यो अनि केवल ३७ रनमा ३ विकेटको पतनपछि टीमले तेजीको साथ रन बनाउन सकेन। कप्तान रिची बेरिंग्टन र टम ब्रूसलाई छोडेर अन्य कसैले लड़ाइँ गर्न सकेनन्। बेरिंग्टनले ३ वटा चौका र २ वटा छक्काको साथ २४ बलमा ४२ रन बनाए। यसरी ब्रूसले २ वटा छक्का र एउटा चौकाको साथ २८ बलमा ३५ रन बनाए। यी दुईजनाले चौथो विकेटको निम्ति ७८ रनको पार्टनरशीप गरे। क्यारेबियन पेस बलर शेफर्डले ईनिंग्सको १७औं ओभरको दोस्रो, तेस्रो अनि चौथो बलमा क्रमशः म्याथ्यू क्रस (११ रन), माइकल लिस्क र ओलिवर डेविडसनलाई आउट गरी आफ्नो ह्याट्रिक पूरा गरे। शेफर्डले त्यही ओभरको अन्तिम बलमा साफयान शरीफलाई पनि आउट गरे। शेफर्डले म्याचमा जम्मा ५ विकेट लिए।










