मुम्बई: भारतकी सुप्रसिद्ध र बहुआयामिक पार्श्व गायिका आशा भोंसलेको ९२ वर्षको उमेरमा आइतबार निधन भएको छ। मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उपचारका क्रममा ‘मल्टी-अर्गन फेलियर’ (धेरै अङ्गहरूले काम गर्न छोडेका) कारण उनको मृत्यु भएको अस्पताल प्रशासन र परिवारले पुष्टि गरेका छन्।
शनिबार साँझ छातीमा संक्रमण र अत्यधिक थकानका कारण उनलाई अस्पतालको इमर्जेन्सी मेडिकल युनिटमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनलाई अचानक हृदयघात (कार्डियक अरेस्ट) भएको र त्यसपछि स्वास्थ्य अवस्था तीव्र रूपमा बिग्रिएको चिकित्सकहरूले बताएका छन्। उनकी नातिनी जनाई भोंसले र छोरा आनन्द भोंसलेका अनुसार उनलाई बचाउन गरिएका सम्पूर्ण प्रयासहरू असफल भएका थिए।
प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मु र बलिउडका दिग्गज कलाकारहरूले उनको निधनमा गहिरो शोक व्यक्त गर्दै संगीत जगतमा कहिल्यै पुरा नहुने क्षति पुगेको बताएका छन्। झन्डै आठ दशक लामो संगीत यात्रामा उनले २० भन्दा बढी भाषाहरूमा १२ हजारभन्दा बढी गीत गाएर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराएकी थिइन्। पद्म विभूषण र दादा साहेब फाल्के जस्ता प्रतिष्ठित सम्मानबाट विभूषित भोंसलेको अन्तिम संस्कार भोलि सोमबार मुम्बईको शिवाजी पार्कमा गरिने जानकारी दिइएको छ।










