स्यालमेण्डर इम्प्रिण्ट्सद्वारा नेपथ्यको ब्याण्ड-जीवनीको भारतीय संस्करण सार्वजनिक

IMG-20260227-WA0077

सिलगढ़ी: लोकप्रिय नेपाली फोक–रक ब्याण्ड नेपथ्य-को शहरमा हुन लागेको लाइभ कन्सर्टको पूर्वसन्ध्यामा सिलगढ़ी आधारित स्यालमेण्डर इम्प्रिण्ट्स-ले ब्याण्डको चर्चित जीवनी ‘नेपथ्य: लोकप्रिय यात्राको अन्तरङ्ग’ को भारतीय संस्करण २६ फेब्रुअरी २०२६ मा किताब केफे, सिलगढ़ीमा सार्वजनिक गर्‍यो। समारोहमा कला, सङ्गीत र साहित्य क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो।
नेपथ्यको पहिचान बनेका स्वरकार अमृत गुरुङ कार्यक्रमका प्रमुख आकर्षण बनेका थिए। जीवनीकार गिरीश गिरीद्वारा लिखित उक्त कृति अमृत गुरुङ, गिरीश गिरी, किरण कृष्ण श्रेष्ठ, आभास, ज्ञानेन्द्र खातीवडा, बद्री खरेल र दुर्गा खरेलद्वारा आधिकारिक रूपमा विमोचन गरिएको थियो।
नेपथ्य एक प्रतिष्ठित रक ब्याण्ड हो, जसले मौलिक नेपाली धुनहरूलाई समकालीन साङ्गीतिक अभिव्यक्तिसँग संयोजन गर्दै अघि बढ़ाएको छ। यसको सङ्गीतले नेपाली भाषा र संस्कृतिलाई जीवन्त बनाउँदै शान्ति र सद्भावको सन्देश प्रवाह गर्छ। नेपालको सङ्घर्षकालमा सञ्चालन गरिएको पीस म्युजिक जर्नीमार्फत् देशका विभिन्न स्थानहरूमा छरिएका यस ब्याण्डका गीतहरूले समय, परिस्थिति र राष्ट्रको संवेदनशील चित्र प्रस्तुत गरेका छन्। सन् १९८० को दशकदेखि संसारभरिका मञ्चहरूमा निरन्तर प्रस्तुत हुँदै आएको नेपथ्यको यात्रालाई यस पुस्तकमा सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ।
नेपालमा व्यापक रूपमा पढ़िएको यो जीवनी केवल ब्याण्डको कथा मात्र नभई सकारात्मक सोच जगाउने र मानसिक दृढ़ता अभिवृद्धि गर्ने प्रेरणादायी कृतिका रूपमा पनि प्रशंसित छ। सबै उमेर समूहका पाठकलाई लक्षित गरी तयार गरिएको यस पुस्तकले जीवन र संसारलाई रचनात्मक तथा सकारात्मक दृष्टिकोणबाट हेर्ने प्रेरणा प्रदान गर्छ।
आफ्नो सम्बोधनका क्रममा नेपथ्यका प्रमुख गायक अमृत गुरुङले भने, “सत्य लेख्नु सजिलो हुँदैन। यो पुस्तकले हाम्रो ब्याण्डका यथार्थ कथाहरू साहसपूर्वक बाहिर ल्याएको छ।” उनले नेपालमा जस्तै भारतमा पनि यस कृतिले आत्मीयता र व्यापक पाठकवर्ग प्राप्त गर्ने विश्वास व्यक्त गरे।
बुक-एण्ट पब्लिकेशन हाउसका निर्देशक राजा पुनियानीले भने, “डा. सोनाम बी. वाङ्यालको दार्जीलिङ टु डिस्ट्याण्ट डेस्टिनेसन्स र शारदा छेत्रीको अ लेगेसी अफ सरो – अ स्टोरी फ्रम दार्जीलिङ-पछि नेपथ्य: लोकप्रिय यात्राको अन्तरङ्ग स्यालमेण्डर इम्प्रिण्ट्सको तेस्रो कृति हो। यस महत्त्वपूर्ण ब्याण्ड जीवनीमार्फत् भारत र नेपालबीच साहित्यिक आदान–प्रदान अझ सुदृढ़ हुने अपेक्षा गरेका छौँ।” उनले पुस्तक बुक-एण्टको ई–कमर्स वेबसाइट तथा अमाजन इण्डियामा उपलब्ध भइसकेको र चाँड़ै दार्जीलिङ र सिक्किमका प्रमुख पुस्तक पसलहरूमा पनि उपलब्ध हुने जानकारी दिए।
नेपालबाट मूल प्रकाशकका रूपमा सम्बोधन गर्दै पब्लिकेशन नेपालयका प्रकाशन प्रमुख किरण कृष्ण श्रेष्ठले भने, “प्रकाशन पाठक र लेखकबीच सेतुको काम गर्ने कार्यक्षेत्र हो। स्यालमेण्डर इम्प्रिण्ट्समार्फत् नेपथ्यको प्रकाशनले भारतमा नयाँ पाठक क्षितिज खोल्ने विश्वास लिएका छौँ।” सीमाहरू क्रमशः हट्दै गइरहेको विश्व परिवेशमा विचार र सिर्जनात्मक कृतिको आदान–प्रदान समयको आवश्यकता भएको बताए।
लेखक गिरिश गिरीले कला र साहित्यको धनी भूमिको रूपमा परिचित दार्जीलिङ क्षेत्रमा आफ्नो कृति प्रकाशित भएकोमा अत्यन्त हर्ष व्यक्त गरे। उनले पुस्तक लेखनका क्रममा नेपथ्यसँग बिताएका अनुभवहरू पनि साझा गरे।
कवि–सङ्गीतकार आभासले बालक-बालिका तथा युवा पुस्तामाझ मातृभाषामा पढ़्ने बानी विकास गर्नुपर्नेमा जोड़ दिँदै त्यसले उनीहरूलाई आफ्नो जरा र पहिचानसँग जोडिराख्न मद्दत गर्ने बताए। कवि–समालोचक ज्ञानेन्द्र खतिवडाले भारतमा नेपथ्य प्रकाशन भएकोमा खुशी व्यक्त गर्दै दार्जीलिङ क्षेत्रमा प्रकाशन गतिविधि बढ़्दै जाँदा आशावादी सांस्कृतिक वातावरण सिर्जना भइरहेको उल्लेख गरे।


औपचारिक विमोचनपछि पाठकहरू नेपथ्य: लोकप्रिय यात्राको अन्तरङ्गको आ-आफ्नो प्रतिमा अमृत गुरुङको हस्ताक्षर लिन उत्साहपूर्वक लामबद्ध भएका थिए।
कार्यक्रममा लोकप्रिय लोकगायक जोड़ी बद्री–दुर्गा खरेल, विख्यात् इतिहासकार डा. सोनाम बी. वाङ्याल, प्रसिद्ध गीतकार पुरण गिरी, सङ्गीतकार दिवस गुरुङ, रमेश गुरुङ, कलाकार नीलामणि थापा, गायक–सङ्गीतकार पूजन लोहागण, रङ्गकर्मी ललित गोले, जीवन गुरुङ, गायक सान्निध्य थापा, रङ्गकर्मी–कवि राजु प्रधान हिमांशु, गायिका जुनु गौतम, कण्टेण्ट क्रिएटर–गायक अनिर तामाङ, लेखक–पत्रकार अनुराधा शर्मा, कवि–समालोचक वासुदेव थापा पुलामी, फिल्मकर्मी विनोद विष्ट, विवेक राई लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन कवि–गायक-सङ्गीतकार तथा स्टुडियो साउण्डट्र्याकका स्वामी समीर शर्माले गरेका थिए।

About Author

Advertisement