स्पेन रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३९ पुग्यो

Train-Accident-Spain-Photo-Reuters-1024x576

काठमाडौं: स्पेनमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३९ पुगेको छ। दर्जनौं घाइते भएका छन् ।

पछिल्लो एक दशकभन्दा बढी अवधिमा यसलाई देशकै सबैभन्दा ठूलो रेल दुर्घटना मानिएको छ ।

म्याड्रिडतर्फ जाँदै गरेको एक रेल लिकबाट उछिट्टिएर विपरीत दिशाको र्ट्याकमा पुग्दा अर्को रेलसँग ठोक्किएको थियो। स्थानीय अधिकारीहरुका अनुसार दुवै रेलमा गरी करिब ४ सय यात्रु र कर्मचारी सवार थिए ।

आपतकालीन सेवाका अनुसार कम्तीमा ७३ जनालाई अस्पताल लगिएको छ। तीमध्ये २४ जनाको अवस्था गम्भीर छ, जसमा चार बालबालिका पनि छन् ।

स्पेनका यातायात मन्त्री ओस्कार पुएन्तेले घटनालाई ‘अत्यन्तै अचम्मको’ भनेका छन्। किनभने रेल सीधा ट्रयाकमा दुर्घटनाग्रस्त भएको थियो, जुन ट्रयाक गत वर्ष मे महिनामा मात्रै मर्मतसम्भार गरिएको थियो ।

मालागाबाट स्थानीय समयअनुसार १८:४० बजे प्रस्थान गरेको रेल करिब १० मिनेटमै दुर्घटना भएको थियो ।

मालागाबाट सञ्चालन गरिएको रेल यात्राको जिम्मा लिएको निजी रेल कम्पनी इर्योले पहिलो पटक लिक छाडेको रेलमा करिब ३०० यात्रु रहेको जनाएको छ। अर्कोतर्फ, रेन्फे कम्पनीले सञ्चालन गरेको म्याड्रिड–हुएल्भा रेलमा करिब १०० यात्रु थिए ।

रेल दुर्घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन। अधिकारीहरुले दुर्घटनाको अनुसन्धान सुरु भएको जनाएका छन्। अनुसन्धानको निष्कर्ष आउन कम्तीमा एक महिना लाग्ने अनुमान गरिएको बीबीसीले जनाएको छ ।

यसैबीच स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले मृतक परिवारप्रति समवेदना व्यक्त गर्दै देशले ‘गहिरो पीडाको रात’ भोग्नुपरेको बताएका छन् ।

स्पेनका राजा फेलिपे छैठौँ र रानी लेतिजियाले पनि दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल माक्रों र युरोपेली आयोगकी प्रमुख उर्सुला फोन डर लेयेनले पनि शोक सन्देश दिएका छन् ।

सन् २०१३ मा स्पेनको उत्तर–पश्चिमी क्षेत्र गालिसियामा भएको उच्चगतिको रेल दुर्घटना देशकै सबैभन्दा भयावह दुर्घटना थियो, जसमा ८० जनाको मृत्यु भएको थियो भने १४० जना घाइते भएका थिए ।

About Author

Advertisement