म्याड्रिड: स्पेनिश ला लीगा फूटबल प्रतियोगितामा बार्सिलोनाले रोमाञ्चक जीत हासिल गऱ्यो भने रियल म्याड्रिड चाहिँ निराशाजनक हारको सम्मुखीन भयो। शनिवार राति खेलिएको म्याचमा बार्सिलोनाले एट्लेटिको म्याड्रिडविरुद्ध २-१-ले जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्ड रियाद एयर मेट्रोपोलिटानो स्टेडियममा ३१ प्रतिशत पोजेशनको साथ खेल्ने एट्लेटिको म्याड्रिडले ग्युलिआनो सिमेओनको गोलको सहायताले ३९औं मिनटमा शुरुवाती बढ़त हासिल गरे पनि अधिक समयसम्म बार्सिलोनालाई रोक्न सकेन। मार्कस रासफोर्डले ४२औं मिनटमा गोल गरी बार्सिलोनालाई १-१-को बराबरीमा पुऱ्याए। त्यसपछि इञ्ज्युरी टाइमको सातौं मिनटमा डिफेण्डर निकोलस गोञ्जालेजले रेड कार्ड देख्दा एट्लेटिको म्याड्रिडलाई ठूलो झट्का लाग्यो। बार्सिलोनाका लामिन यामाललाई गोल गर्नदेखि रोक्ने प्रयासमा गोञ्जालेजले रेड कार्ड देखे। दशजना खेलाड़ीमा सीमित भए पनि एट्लेटिकोले दोस्रो हाफमा लड़ाकू प्रदर्शन गऱ्यो। अन्तमा रोबर्ट लेवाण्डोस्कीले भाग्यको भरमा ८७औं मिनटमा दिलाएको गोलले बार्सिलोनालाई विजयी बनायो। यस जीतको साथ बार्सिलोना ३० वटा म्याचमा ७६ पोइण्ट्सको साथ ला लीगा पोइण्ट्स टेबलको शीर्षमा कायम रह्यो। अहिले उनीहरूसँग दोस्रो स्थानमा रहने रियल म्याड्रिडभन्दा ७ पोइण्ट्स अधिक रहेको छ। यसरी चौथो स्थानमा रहने एट्लेटिको म्याड्रिडसँग ५७ पोइण्ट्स रहेको छ। रियल म्याड्रिडले चाहिँ मालोर्काविरुद्ध २-१-ले अप्रत्याशित हारको सामना गर्नु पऱ्यो। यस अवे म्याचमा ६४ प्रतिशत पोजेशनको साथ खेल्ने रियल म्याड्रिडले धेरै मौकाहरू गुमाउँदा परिणाम भोग्नु पऱ्यो। मालोर्काको निम्ति मानु मोर्लानेसले ४२औं मिनटमा पहिलो गोल गरे अनि टीमले यस बढ़तलाई मध्यान्तरसम्म कायम राख्यो। दोस्रो हाफको खेलमा रियल म्याड्रिडले लगातार आक्रमण गर्दै ८८औं मिनटमा बराबरी हासिल गऱ्यो। रियल म्याड्रिडको तर्फबाट एडेर मिलिटाओले ८८औं मिनटमा गोल गरे। अन्तमा वेदात मुरिकिले इञ्ज्युरी टाइमको पहिलो मिनटमा गोल गरी मालोर्कालाई यादगार जीत दिलाए। यस हारपछि रियल म्याड्रिड ६९ पोइण्ट्सको साथ दोस्रो स्थानमा कायम रह्यो। यसरी १७औं स्थानमा रहने मालोर्कासँग ३१ पोइण्ट्स रहेको छ। ला लीगाका अन्य म्याचहरूमा रियल सोसिएदादले लेवान्तेलाई २-०-ले अनि रायो भाल्लेकानोले एल्चेलाई १-०-ले पराजित गऱ्यो। रियल बेटिस र एस्पानयोलबीच खेलिएको म्याच गोलरहित ड्र (०-०)-मा समाप्त भयो।









