सुनको कफिनमा अन्तिम बिदाई

IMG-20260304-WA0046

ग्वाडालाजारा: मेक्सिकोका सबैभन्दा खतरनाक मानिने लागुऔषध तस्कर नेमेसियो ओसेगुएरा सर्भान्तेस ‘एल मेन्चो’ को अन्त्येष्टि भव्य तर तनावपूर्ण वातावरणमा सम्पन्न भएको छ। ५९ वर्षीय यी ‘ड्रग लर्ड’ को अन्तिम बिदाइमा उनलाई सुनको बाकसमा राखेर गाडिएको छ।
फेब्रुअरीको अन्त्यतिर मेक्सिकोको विशेष सुरक्षा बलसँगको भिडन्तका क्रममा गम्भीर घाइते भएका एल मेन्चोको उपचारका क्रममा मृत्यु भएको हो। उनी मेक्सिकोको सबैभन्दा कुख्यात र शक्तिशाली जालिस्को न्यु जेनेरेसन कार्टेल (सीजेएनजी) का संस्थापक तथा प्रमुख थिए। उनको टाउकोको मूल्य अमेरिकाले १ करोड ५० लाख डलर तोकेको थियो।
मेक्सिकोको ग्वाडालाजारा नजिकै भएको अन्त्येष्टि कार्यक्रममा सयौँको संख्यामा मानिसहरू सहभागी भएका थिए। सो क्रममा एल मेन्चोको सोखलाई सम्मान गर्दै भालेको आकारमा बनाइएको ठूलो पुष्पगुच्छा चर्चाको विषय बन्यो। उनी कुखुरा जुधाउने खेलका ठुला सौखिन थिए।
एएफपी समाचार एजेन्सीका अनुसार अन्त्येष्टिमा प्राप्त भएका श्रद्धाञ्जलीका फूलहरू ओसार्न मात्रै पाँचवटा ट्रकको प्रयोग गरिएको थियो। तीमध्ये अधिकांश फूलहरू अज्ञात व्यक्तिहरूले पठाएका थिए। शवयात्राका क्रममा मेक्सिकोको परम्परागत रान्चेरो संगीत र लागुऔषध तस्करहरूको प्रशंसामा गाइने नार्कोकोरिडोस गीतहरू बजाइएको थियो।
एल मेन्चोको मृत्युपछि मेक्सिकोका २० भन्दा बढी राज्यहरूमा व्यापक हिंसा फैलिएको थियो। उनका समर्थकहरूले सवारी साधनमा आगजनी गर्ने र सडक अवरुद्ध गर्ने जस्ता गतिविधि गरेपछि अन्त्येष्टि स्थलमा नेशनल गार्डका ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।
मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबाउमको सरकारका लागि यो घटनालाई ठूलो सफलताका रूपमा हेरिएको छ। विशेषगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लागुऔषध तस्करी नियन्त्रणका लागि मेक्सिकोलाई दबाब दिइरहेको सन्दर्भमा यो कारबाहीलाई महत्त्वपूर्ण मानिएको छ।
दशौँ हजार सदस्य रहेको यो शक्तिशाली कार्टेलको नेतृत्व रिक्त भएपछि मेक्सिकोमा थप हिंसा बढ्न सक्ने खतरा औँल्याइएको छ। एल मेन्चोको ठाउँ लिन कार्टेलभित्रका विभिन्न गुटहरूबीच आन्तरिक युद्ध सुरु हुन सक्ने भन्दै सुरक्षा निकायहरूले उच्च सतर्कता अपनाएका छन्।
अन्त्येष्टिमा सहभागी धेरैले आफ्नो पहिचान लुकाउन मास्क प्रयोग गरेका थिए। अन्य कुख्यात तस्करहरूको तुलनामा एल मेन्चोको चिहान भने सामान्य देखिएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

About Author

Advertisement