मालदा: मालदा जिल्लाको हबीबपुर थाना पुलिसले भारत–बांग्लादेश सीमामा अवैध घुसपैठ रोक्ने क्रममा ठूलो सफलता हासिल गरेको छ। पैसाको सट्टा बांग्लादेशी नागरिकलाई अवैध रूपमा भारतीय क्षेत्रमा प्रवेश गराउँदै आएका एक भारतीय युवकलाई पुलिसले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा हबीबपुरको आगरा हरिश्चन्द्रपुर क्षेत्रका बासिन्दा राजु मण्डल उर्फ सुजित चौधरी (२८) रहेको प्रहरीले जनाएको छ।
पुलिस स्रोतका अनुसार घुसपैठ गिरोहको भण्डाफोर २१ जनवरीमा भएको थियो। सो दिन अवैध रूपमा सीमा पार गरेको आरोपमा एक बांग्लादेशी नागरिक पक्राउ परेका थिए। सोधपुछका क्रममा उनले आफूलाई सीमा पार गराउन राजु मण्डलले सहयोग गरेको बयान दिएका थिए। अनुसन्धानका क्रममा राजु मण्डल पैसाको सट्टा सीमा पार गराउने एजेन्टको रूपमा सक्रिय रहेको खुलासा भएको हो।
त्यसपछि पुलिसले छापा मारेर राजु मण्डललाई पक्राउ गरेको जनाएको छ। पुलिसले उनी कति समयदेखि यस अवैध गतिविधिमा संलग्न थिए र अहिलेसम्म कति जनालाई सीमा पार गराएका थिए भन्ने विषयमा थप अनुसन्धान भइरहेको बताएको छ।










