सिलीगुड़ीमा ट्राफिक जाम कम गर्न पुलिसको नयाँ पहल

804985-img-20240901-wa0030

सिलीगुड़ी: सिटीमा ट्राफिक जामबाट राहत दिन र नागरिकहरूको दैनिक यात्रालाई सहज बनाउने उद्देश्यसहित सिलीगुड़ी पुलिस कमिश्नरेटले नयाँ पहल शुरु गरेको छ। पुलिस आयुक्तको निर्देशनअनुसार कमिश्नरेट क्षेत्रभित्र दैनिक ‘ट्राफिक बुलेटिन’ सेवा सुरु गरिएको छ।
यो सेवा अनुसार बिहान ८ बजे र साँझ ४ बजे ट्राफिकको स्थिति अपडेट गरिनेछ। बिहानको बुलेटिन मुख्यतया कार्यालय जाने कर्मचारी, विद्यार्थी र कामकाजी नागरिकका लागि हुनेछ भने साँझको बुलेटिनले घर फर्कँदै गरेका नागरिकलाई जाम, बजार क्षेत्रको भीड र मार्गहरूको जानकारी दिनेछ।
साथै, आकस्मिक ट्राफिक बढ्नु, सडक मर्मत, दुर्घटना, जुलूस वा वीआईपी मूवमेन्ट जस्ता घटनामा रियल–टाइम इमरजेन्सी अपडेट पनि उपलब्ध हुनेछ।
यो सेवा केवल सामाजिक सञ्जालमा सीमित नभई, चाँडै रेडियोमार्फत पनि प्रसारण गरिनेछ। नागरिकहरूलाई सिलीगुड़ी ट्राफिकको आधिकारिक पेज फॉलो गर्न आग्रह गरिएको छ र सुझाव तथा फीडब्याक पठाउन पनि भनिएको छ।
सिलीगुड़ी उत्तर बंगालको प्रमुख व्यावसायिक केन्द्र भएकाले यहाँ हजारौं सवारी साधन दैनिक चल्छन्। नयाँ ट्राफिक बुलेटिनले नागरिकलाई सही मार्ग र समय छान्न सहयोग पुग्नेछ, जसले जाम कम गर्न र सडक सुरक्षा बढाउन मद्दत गर्नेछ।

About Author

Advertisement