गान्तोक: राजधानीस्थित लोकभवनमा आज अरुणाचल प्रदेश र मिजोरमको राज्य स्थापना दिवसको उत्सव आयोजन गरियो। उक्त आयोजन भारत सरकारको पहल ‘एक भारत, श्रेष्ठ भारत’ अन्तर्गत सम्पन्न गरिएको लोकभवनले आज जानकारी दिएको छ।
कार्यक्रममा दुवै राज्यको समृद्ध संस्कृति, इतिहास, विरासत, व्यञ्जन र पर्यटन स्थलहरू प्रदर्शित गर्ने अडियो भिडियो फिल्म प्रस्तुत गरियो। यस क्रममा मिजोरमका राज्यपाल जनरल (डा.) विजय कुमार सिंहको सन्देश पनि प्रसारित गरिएको थियो।
राज्यपालका संयुक्त सचिव दिवस गौतमले भने, यस अवसरले परस्पर सामाजिक, आर्थिक र सांस्कृतिक बन्धनलाई अझ सुदृढ़ बनाउने अवसर प्रदान गर्दछ, विशेष गरी पूर्वोत्तर क्षेत्रको एकता र प्रगतिको सन्दर्भमा आजको दिन महत्वपूर्ण छ।
राज्यपालका एडीसी सन्तोष बानियाले पनि आफ्नो विचार व्यक्त गर्दै भने, अरुणाचल प्रदेश र मिजोरम भारतको समृद्ध सांस्कृतिक विरासतका प्रतीक हुन्। दुवै राज्यहरूको साहित्य, लोककला, उत्सव, खेल र हस्तशिल्पको गौरवशाली परम्परा हाम्रो महान राष्ट्रको विविधतामा एकताको प्रतिबिम्ब हो।
कार्यक्रममा लोकभवनका अधिकारीहरू, कर्मचारीहरू र सुरक्षा कर्मीहरू उपस्थित थिए।











