सामसिङ: दार्जिलिङ लोकसभा सांसद राजु विष्टले आज सामसिङ, शिवालय, मन्दिरमा चलिरहेको विश्वशान्ति एकादश शिव महापुराण ज्ञान महायज्ञमा सहभागी भएर साम्सिङ्ग चिया बगान, टपलाइनमा आदिकवि भानुभक्त आचार्यलाई श्रद्धाञ्जली अर्पण गरे।

सांसदले यसबारे उल्लेख गर्दै आज यहाँ उपस्थित सबै गण्यमान्यजन साथै समस्त श्रद्धालुजनसँग बसेर यस आध्यात्मिक वातावरणमा रम्न पाउनु उनको लागि ठूलो अहोभाग्य ठाने।
यसैगरी सांसदले यस महापुराणबाट उत्पन्न भइरहेको दैवीय शक्ति अनि ओजस्विताले जनताको सबै मनोकांक्षाहरू, समाज, जाति अनि क्षेत्रका सबै समस्याहरूको निराकरण होस्, सबैको भविष्य निष्कंटक होस्, समृद्ध होस् अनि खुशियालीले भरिपूर्ण होस् भने। साथै यस कामनासँगै यसको सफल सम्पन्नता निम्ति शुभकामना व्यक्त गरे।
सांसदले यस अवसरमा आफ्ना कथा-वाचन एवम् दिव्य वचनहरूद्वारा समस्त दर्शकवृन्दलाई सम्मोहित र लाभान्वित गराईदिनु हुने कथावाचक पं० श्री रवि घिमिरे तथा अन्यान्य विद्वतजनहरूलाई पनि नमन् टक्राए अनि आभार व्यक्त गर्दै, महापुराण आयोजक समितिप्रति धन्यवाद व्यक्त गरे।
अर्कोतिर सांसदले साम्सिङ्ग चिया बगान, टपलाइनमा आदिकवि भानुभक्त आचार्यलाई श्रद्धाञ्जली अर्पण गरे भने, आदिकविले रामायणलाई साधारण नेपाली भाषामा अनुवाद गरेर यस महाकाव्यको लोकलयमा वाचनलाई जन-जनमा लोकप्रिय बनाएको अनि यसरी नेपाली भाषा सबै गोर्खा उप-जनजातिहरूलाई एकसूत्रमा बाँध्ने एउटा सांस्कृतिक माध्यमको रूपमा विकसित भएको बारेमा सामाजिक संजाल मार्फत उल्लेख गरे।
अन्तमा सांसदले भने, भारतीय गोर्खाहरूमा, विशेषगरी दार्जिलिङ पहाड़, तराई र डुवर्स क्षेत्रमा, उनका रचनाहरू साझा भाषिक र सांस्कृतिक पहिचान र गर्वको आधारशिला बनेका छन्।गोर्खा एकीकरणको धागोको रूपमा उनको विरासत सबैको लागि प्रेरणाको स्रोत बन्नुसँगै, सामुदायिक एकताको सूत्रधार बनेको छ।










