दार्जिलिङ: आज दार्जिलिङ लोकसभा सांसद राजु विष्टले सामाजिक संजाल मार्फत कवि नरेन्द्रप्रसाद कुमाईको ‘गोर्खा अम्बरका नव तारा, नेता हाम्रा अतिशय प्यारा” भन्ने कविताको एक छन्द प्रस्तुत गर्दै आज २३ जनवरीको दिन भारतीय गोर्खा समाजका महानायक, युगद्रष्टा नेता बाबू डम्बर सिंह गुरुङको जन्मजयन्तिको पावन अवसरमा उहाँप्रति गहिरो श्रद्धा, सम्मान र कोटि–कोटि नमन अर्पण गरे।
विष्टले संजालमा भने- बाबू डम्बर सिंह गुरुङ केवल एक नेता मात्र होइनन्, उहाँ गोर्खा समाजलाई राजनीतिक चेतनाको बाटो देखाउने प्रथम द्रष्टा हुनुहुन्थ्यो। निरंकुश ब्रिटिश शासनकालमा ‘अभागोली’ दलको गठनमार्फत उहाँले गोर्खा समाजलाई अधिकार, स्वाभिमान र संगठनको महत्व बुझाउनुभयो। भारतका विभिन्न भूभागमा राजनीतिक चेतनाको विस्तार गर्नु उहाँको अद्वितीय योगदान हो।
सांसद विष्टले संजालमा “संघै गौरव राख्नेछौं गोर्खाको” भन्ने मूल मन्त्रका साथ डम्बरसिंहले देखाएको मार्ग आज पनि हामी सबैका लागि प्रेरणाको स्रोत बनेको बताए।
विष्टले गोर्खा समाजको एकता, पहिचान, सम्मान र उज्ज्वल भविष्यको सपना साकार पार्नु नै उहाँप्रति साँचो श्रद्धाञ्जलि हुनेछ भनि श्रद्धा प्रकट गरे साथै बाबू डम्बर सिंह गुरुङले देखाएको बाटोमा एकताबद्ध हुँदै, गोर्खा समाजको स्वाभिमान र अधिकारका लागि निरन्तर अघि बढ्ने संकल्प गरौं भनि अपिल गरे।










