दार्जिलिङ: दार्जिलिङ लोकसभा सांसद राजु विष्टले (ईस्टर्न फ्रन्ट्रियर राईफल्स-ईएफआर) का प्रतिनिधिहरूसँग भेटघाट गर्ने र पश्चिम बंगालमा ईएफआरले सामना गरिरहेका विभिन्न समस्याहरूबारे छलफल गर्ने अवसर प्राप्त गरे। यस विषयमा सामाजिक संजालमा सांसदले सन् १९०७ मा स्थापना भएको ईस्टर्न फ्रन्टियर राइफल्सले राष्ट्रको सेवामा असाधारण सम्मान र गौरवका साथ योगदान पुर्याउँदै आएको छ भने।
उनले भने, यस बलको गौरवशाली इतिहासमा प्रथम तथा द्वितीय विश्वयुद्ध, इन्डो–चीन युद्ध, सन् १९६५ को भारत–पाकिस्तान युद्ध, र सन् १९७१ को बंगलादेश मुक्ति संग्राममा भारतीय सेनाको अभिन्न अंगका रूपमा खेलेको सराहनीय भूमिका समावेश छ। देश विभाजनदेखि नै उत्तर–पूर्वी भारतमा विद्रोहविरुद्ध लडाइँ, माओवादी गतिविधि नियन्त्रण, साम्प्रदायिक अशान्ति, प्राकृतिक विपद् तथा हरेक राष्ट्रिय आपत्कालीन अवस्थाहरूमा आन्तरिक सुरक्षाको जिम्मेवारी वहन गर्न ईएफआरले महत्वपूर्ण योगदान पुर्याएको छ।

सांसदले संजालमा यति प्रतिष्ठित इतिहास बोकेको यस बललाई पश्चिम बंगाल सरकारले समाप्त पार्न खोजिरहेको देखिनु अत्यन्तै चिन्ताजनक विषय हो भने। साथै सन् २०१० यता कुनै पनि नयाँ भर्ना प्रक्रिया गरिएको छैन, जबकि २,००० भन्दा बढी राइफलम्यानका पदहरू अझै खाली रहेको उल्लेख गरे।
सांसदले अझ अघि भने, यस ऐतिहासिक बललाई आधुनिकीकरण र सुदृढीकरण गर्नुको सट्टा, पश्चिम बंगाल सरकारले तीन बटालियनलाई गाभेर दुईमा सीमित गर्ने निर्णय गरेको छ। यस कदमले सैनिकहरूको मनोबल र कार्यक्षमता दुवैमा गम्भीर नकारात्मक प्रभाव पार्नेछ।










