नयाँ दिल्ली: दार्जिलिङका सांसद राजु बिष्टले आज प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरी दार्जिलिङ पहाड, तराई र डुवर्स क्षेत्रको विकासलाई प्राथमिकता दिएकोमा धन्यवाद व्यक्त गरेका छन्। उनले हालै घोषणा गरिएको सिलिगुडी–वाराणसी उच्चगतिको बुलेट ट्रेन करिडोरलाई क्षेत्रीय विकासका लागि ऐतिहासिक कदम भएको बताएका छन्।

क्षेत्रवासीहरूको तर्फबाट उनले प्रधानमन्त्री मोदीलाई दार्जिलिङ भ्रमणका लागि औपचारिक निमन्त्रणा पनि दिएका छन्।
सांसद बिष्टले राष्ट्रिय सुरक्षाका दृष्टिले अत्यन्त महत्त्वपूर्ण भए पनि दार्जिलिङ, तराई र डुवर्स क्षेत्र लामो समयसम्म आधारभूत पूर्वाधारको अभावमा पछाडि परेको उल्लेख गरे। पूर्वाधार अभावकै कारण आर्थिक पछौटेपन र आधारभूत सेवामा सीमित पहुँचको समस्या भोग्नुपरेको उनको भनाइ थियो।

प्रधानमन्त्री मोदीको नेतृत्वमा अहिले उक्त क्षेत्र दीर्घकालीन पूर्वाधारगत कमीहरू पूर्ति गर्दै जनआकांक्षा पूरा गर्ने दिशामा तीव्र गतिमा अघि बढिरहेको उनले बताए।









