सहरमा बस्नेलाई किन जरुरी छ भिटामिन डी सप्लिमेन्ट?

IMG-20250402-WA0101(1)

अनु श्री आचार्य, पोषणबिद

भिटामिन ‘डी’ चिल्लोमा घुल्ने स्टेरोइडल (कोलेस्टेरोलबाट बनेको) भिटामिन हो। यो प्राकृतिक रुपमा दूध तथा दूधबाट बनेका परिकार, अन्डा, फिस आयल, माछामासु लगायतका खानेकुरामा पाइन्छ। तर भिटामिन डी को प्रमुख स्रोत सूर्यको किरण हो।
बढ्दो सहरीकरण र व्यस्त जीवनशैलीका कारण मानिसहरूलाई घाममा बस्ने फुर्सद नै कम छ।
सहरका घरहरू एकापसमा जोडेर बनाइएकाले कोठाकोठामा सूर्यको किरण छिर्न पनि पाउँदैन। सहरी जीवनशैली र घरभित्रै बसेर काम गर्ने रहनसहनका कारण धेरै मानिसमा भिटामिन डीको कमी देखिन थालेको छ।
सहरमा धेरैजसो मानिस बिहानै खाना  खाएर अफिस जाने र दिनभरि कोठामा बसेर काम गर्ने अनि बेलुका मात्रै मात्र घर फर्किने गर्छन् । यस्तोमा उनीहरू घामको सम्पर्कमा कम आउने भएकाले भिटामिन डीको कमी हुन्छ।
सनस्क्रिन मलम लगाउने मानिसमा पनि भिटामिन डी कम भएको पाइन्छ, किनभने सनस्क्रिनले अल्ट्राभाइलेट किरणलाई परावर्तन गर्छ। जसले घामबाट पाइने भिटामिन डी छालाले भित्र सोस्न पाउँदैन र भिटामिन डीको कमी हुन्छ।
पहिले घाममा बसेर तेल लगाउने चलन थियो त्यो अहिले छैन। अझ सहरी क्षेत्रमा धेरै मानिस भाडामा बस्ने भएकाले घाममा बस्ने अनुकूलता पनि मिल्दैन। बस्न पाउनेहरूको पनि बस्ने समय हुँदैन, पढाइ र जागिरका कारण। त्यसैले सहरवासीहरुमा भिटामिन डीको कमी देखिन्छ।
भिटामिन डी बोसोमा घुलमिल भएर रहने तत्त्व हो। जहाँ बोसोको मात्रा बढी हुन्छ, त्यहाँ गएर भिटामिन डी निष्क्रिय हुने भएकाले मोटो मानिसमा भिटामिन डीको मात्रा कम हुन्छ।
भिटामिन डी किन आवश्यक हुन्छ?
भिटामिन डीले शरीरमा क्याल्सियम नियन्त्रित गर्ने काम गर्छ, जसले तन्त्रिकाको कार्य प्रणाली तथा हड्डीलाई मजबुत बनाउन सहयोग गर्छ। यसले शरीरको रोगप्रतिरोधात्मक क्षमतामा वृद्धि गर्छ।
शरीरमा भिटामिन डीको कमी भएमा शरीरमा क्याल्सियम सोस्ने क्षमता कम हुने गर्छ। जसकारण शरीरमा हड्डी, मांसपेशी तथा जोर्नीमा विभिन्न समस्या उत्पन्न हुन्छ। हड्डी कमजोर हुने, भाँचिने आदि समस्या हुने गर्छ। शरीरमा भिटामिन डीको कमी हुने महिलालाई मधुमेह हुने जोखिम समेत हुने बताइन्छ। त्यसैले शरीरमा भिटामिन डीको सन्तुलन मिलाउनुपर्छ।
अनावश्यक रुपमा सप्लिमेन्ट खानु हुँदैन:
सामान्यतया कुनै पनि भिटामिन सप्लिमेन्ट यत्तिकै खाने सल्लाह दिइँदैन। खानपानबाट नै त्यसको आवश्यकता पूरा गर्ने सल्लाह दिइन्छ। तर कुनै पनि भिटामिन एकदमै कमी छ, कुनै रोगको कारण खानपानबाट भिटामिन पाउन गाह्रो हुन्छ भने मात्र भिटामिनको सप्लिमेन्ट खानुपर्छ। भिटामिन डी पनि प्राकृतिक रुपमा प्राप्त भएन एकदमै कमी भयो भने मात्र खानुपर्छ।
अन्य भिटामिन शरीरमा बढी भयो भने पिसाब मार्फत बाहिर निस्कन्छ। तर भिटामिन डीको कमी छैन र सप्लिमेन्ट खाएर शरीरमा भिटामिन डी बढी भयो भने विषाक्त भएर शरीरमा जम्मा भएर बस्छ।
शरीरमा चाहिने भन्दा बढी भिटामिन डी भएपनि नसा र मांसपेशीले संगठित रुपमा कार्य गर्न नसक्ने, बेचैनी बढ्ने, कोमल तन्तुहरूमा क्याल्सियम जम्मा हुने, मिर्गौलामा पत्थरी बन्ने, मिर्गौला फेल हुने र हड्डी तथा कलेजो असाधारण रूपले बढ्ने जस्ता समस्या देखा पर्दछ। त्यसैले भिटामिन डी सप्लिमेन्ट लिनुअघि कमी छ कि छैन भनेर जाँच  गरेर मात्र लिनु राम्रो हुन्छ।

About Author

Advertisement