उमेर बढ्दै जाँदा शरीरमा विभिन्न परिवर्तन देखिनु स्वाभाविक भए पनि उचित आहार-विहार अपनाएमा बुढ्यौलीलाई केही हदसम्म ढिलो बनाउन सकिने विज्ञहरू बताउँछन्।
४० वर्षपछि शरीरका अंगहरू क्रमशः कमजोर हुँदै जाने, पाचन शक्ति घट्ने तथा नयाँ कोषहरूको निर्माण कम हुने भएकाले मानिसले आफूलाई चाँडै वृद्ध भएको महसुस गर्न थाल्छ। तर, सन्तुलित जीवनशैली अपनाएमा ६० वर्षको उमेरमा पनि स्वस्थ र सक्रिय रहन सकिने उल्लेख गरिएको छ।
नियमित व्यायाम, बिहान छिट्टै उठ्ने बानी, पर्याप्त पानी पिउने तथा पौष्टिक आहार सेवन गर्नु स्वास्थ्यका लागि लाभदायक मानिन्छ। बिहानको समयमा कागती पानी वा मह पानी पिउनु, दैनिक हिँडडुल गर्नु र योग अभ्यास गर्नाले शरीरलाई स्फूर्त राख्न मद्दत पुग्छ।
त्यस्तै, हरियो सागसब्जी, फलफूल, दाल तथा रेसायुक्त खानेकुरा नियमित सेवन गर्न र बढी मसला, मांसाहार, मदिरा तथा धूम्रपानबाट टाढा रहन सुझाव दिइएको छ।
मानसिक स्वास्थ्य पनि उत्तिकै महत्वपूर्ण भएकाले चिन्ता, तनाव र क्रोधबाट टाढा रहँदै सधैं सकारात्मक र खुशी रहनुपर्नेमा जोड दिइएको छ। आवश्यक परेमा मात्र औषधि सेवन गर्न र चिकित्सकको सल्लाह लिन पनि आग्रह गरिएको छ।











