सिलिगुडी: अबदेखि सिलिगुडीका सबै ४७ वटा वडामा सडकमा फोहोर फाल्नेहरूलाई जरिवाना गरिने भएको छ। यस्तो निर्देशन सिलिगुडी नगरपालिकाले दिएको हो।
नगरपालिकाका अनुसार ४७ वटै वडामा सडकमा फोहोर फाल्ने विषयलाई लिएर नियमित रूपमा विवाद उत्पन्न हुँदै आएको छ। बारम्बार नियम–कानुन र निषेधाज्ञा लागू गरिए पनि समस्याको समाधान हुन सकेको छैन। यस कारण नगरपालिकाले बाध्य भएर नयाँ नियम लागू गर्ने निर्णय गरेको छ।
बताइएअनुसार सिलिगुडीमा दैनिक रूपमा दुई पटक घर–घरबाट फोहोर संकलन गरिँदै आएको छ। त्यसपछि पनि सडकमा फोहोर फालिनु गम्भीर चिन्ताको विषय बनेको छ। सिटी वालाअर्थात् नगरकर्मीहरूले यसरी काम नगरेको गुनासो गर्दै आएका छन्। यसै कारण बाध्य भएर सिलिगुडी नगरपालिकाले सडकमा फोहोर फाल्नेविरुद्ध कडा कदम चाल्दै नयाँ नियम लागू गरेको हो।









