श्रम तथा रोजगार मन्त्री मनसुख माण्डवियाद्वारा आयोजित बैठकमा सांसद विष्टको सहभागीता

FB_IMG_1767541913965

सिलगढी: दार्जिलिङ लोकसभा सांसद राजु विष्टले आज श्रम तथा रोजगार मन्त्री मनसुख माण्डवियाद्वारा सिलिगुडी, दार्जिलिङ जिल्लामा चिया उद्योग र सिन्कोना बगानका सरोकारवालाहरूलाई समेटेर आयोजित बैठकमा सहभागीता जनाए। आज सम्पन्न छलफलहरूले चिया उद्योग र सिन्कोना बगानलाई पुनर्जीवित गर्न तथा सुदृढ बनाउने र कामदारहरूको अधिकारको संरक्षण गर्न उपयुक्त कदम तुरुन्तै चाल्नु पर्ने आवश्यकता स्पष्ट पारेको कुरा विष्टले सामाजिक संजाल मार्फत भने।
सांसदले दशकौँदेखि भारतकै पहाडी क्षेत्रको पहिलो औद्योगिक क्षेत्रमा पर्ने यस ऐतिहासिक चिया बेल्टका कामदारहरू पुरानै उपनिवेशकालीन श्रम प्रथाहरूका कारण पीडित रहेको बताए भने टीएमसी सरकारले श्रमिकवर्गलाई सम्मानजनक पारिश्रमिक, पुर्ख्यौली जमिनमा पार्जा–पट्टा अधिकार, र आधारभूत सुविधा उपलब्ध नगराएको आरोप लगाए। उनले भने- बन्द बगान, समयमा तलब नपाइनु, पेन्सन तथा कानूनी सुविधाबाट वञ्चित हुनुजस्ता कारणले आज हजारौँ कामदार दाजुभाइ–दिदीबहिनीहरू कठिनाइमा छन्।
सांसदले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारत सरकारले दार्जिलिङ पहाड, तराई र डुवर्सका चिया तथा सिन्कोना कामदारहरूको जीवन रूपान्तरण गर्न उद्देश्यित चारवटा नयाँ श्रम संहिताहरू लागू गरेको छ भनि बताए।
कोड अन वेजेस (मजदुरी संहिता) ले सम्मानजनक र न्यायोचित तलब, समयमा भुक्तानी, महिला–पुरुष सबैलाई समान तलब, तथा अत्यधिक वस्तुरूपी कटौती घटाएर यस अन्यायलाई प्रत्यक्ष सम्बोधन गर्नेछ भनि उल्लेख गर्दै सांसदले संजालमा अघि भने, “मन्त्रीका अनुसार, नयाँ संहिताले कुनै पनि कामदारलाई राष्ट्रिय न्यूनतम तलब (न्यासनल फ्लोर वेज) भन्दा कम तलब दिन नपाइने व्यवस्था सुनिश्चित गर्नेछ, र पश्चिम बंगाल सरकारले पनि यसलाई अनिवार्य रूपमा कार्यान्वयन गर्नु पर्नेछ। सोसल सेक्युरिटी कोड (सामाजिक सुरक्षा संहिता) ले भविष्यनिधि, स्वास्थ्य बीमा, ईएसआईसी सुविधा, मातृत्व लाभ, पेन्सन र दुर्घटना सुरक्षा जस्ता सेवाहरूको पहुँच कामदारसम्म विस्तार गर्दछ।
सांसद विष्टले अक्युपेसनल सेफ्टी, हेल्थ एण्ड वर्किङ कन्डिसन्स कोडले बगानभित्रका बसोबास र कार्य वातावरणमा उल्लेखनीय सुधार ल्याउनेछ र इन्डस्ट्रियल रिलेसन्स कोडले कामदार र व्यवस्थापनबीच पारदर्शी र सन्तुलित सम्बन्ध प्रवर्द्धन गर्नेछ भने।
यस अतिरिक्त कामदारहरूको आग्रह अनुसार दार्जिलिङमा शीघ्रै एक श्रम अदालत स्थापना गर्ने विश्वास मन्त्रीले व्यक्त गरेको कुरा राख्दै सांसदले मन्त्रीले समय निकालेर कामदारहरू र उनीहरूको प्रतिनिधिसँग भेटी, उनीहरूको चिन्ता प्रत्यक्ष सुनिदिएकोमा हार्दिक कृतज्ञता व्यक्त गरे।
साथै अन्तमा सबै कामदारका लागि सम्मानजनक पारिश्रमिक, सुरक्षित कार्य वातावरण र उच्च जीवनस्तर सुनिश्चित गर्न भाजपा प्रतिबद्ध छ भनि सांसदले बताए।

About Author

Advertisement