शीर्ष वरीयता प्राप्त सबालेंकाको साथमा ज्वेरेव अष्ट्रेलियन ओपनको सेमिफाइनलमा पुग्न सफल

photocollage_202612718755358

मेलबर्न: शीर्ष वरीयता प्राप्त एरिना सबालेंकाले आफ्नो उत्कृष्ट फर्मलाई जारी राख्दै मंगलवार यहाँ १८ वर्षीय खेलाड़ी इवा जोविचलाई ६-३, ६-०-ले पराजित गरी अष्ट्रेलियन ओपन टेनिस टुर्नामेण्टको सेमिफाइनलमा स्थान बनाइन्। मेलबर्नमा भीषण गर्मीको चताउनी जारी हुँदा अनि तापमान ४० डिग्री सेल्सियस (१०४ डिग्री फेरेनहाइट)-देखि माथि रहने आशंका रहँदा रड लेवर एरेनामा शुरु भएको म्याच छाना खुल्ला राखेर शुरु गरियो। त्यसपछि एलेक्जेण्डर ज्वेरेव र अमेरिकी खेलाड़ी लर्नर टिएनबीच पुरुष क्वार्टर फाइनल म्याचको निम्ति चाहिँ छाना बन्द गर्नु पऱ्यो। पुरुष एकल वर्गमा तेस्रो वरीयता प्राप्त ज्वेरेवले बन्द छाना मुनि खेल्ने फाइदा उठाए अनि २० वर्षीय टिएनलाई ६-३, ६-७ (५), ६-१, ७-६ (३)-ले पराजित गरी सेमिफाइनलमा स्थान सुरक्षित गरे। म्याचमा ज्वेरेवले २४ वटा ऐस लगाए अनि केवल एउटा डबल फल्ट गरे। यसरी उनले कुनै ग्राण्ड स्ल्याम टुर्नामेण्टमा दशौंपल्ट सेमिफाइनलमा प्रवेश गरे। ज्वेरेवले म्याचपछि भने, उनी (टिएन) असाधारण खेलाड़ी हुन्। गत वर्षको तुलनामा उनको खेलमा धेरै सुधार भएको छ। उनले बेसलाइनमा देखाएको खेल असाधारण थियो। मेरो विचारमा उनको भविष्य उज्ज्वल छ।
अष्ट्रेलियन ओपनमा गत चार सालमा तेस्रो खिताब जित्ने प्रयासमा जुटेकी सबालेंकाले असल शुरुवात गरिन् अनि पहिलो सेटमा ३-०-को बढ़त हासिल गरी २९औं वरीयता प्राप्त जोविचलाई दबाउमा पारिन्। अमेरिकी खेलाड़ी जोविचले पनि म्याचमा फर्किने प्रयास गरिन् अनि उनले १० मिनटसम्म चलेको नवौं गेममा ब्रेकपोइण्टको ३ वटा मौका हासिल गरिन्। जोविचले प्रयास गरे पनि सबालेंकाले पछिबाट ६-३-ले पहिलो सेट जितिन्। सबालेंकाले दोस्रो सेटमा २ ब्रेकपोइण्ट लिएर ५-०-को मजबूत बढ़त हासिल गरिन् अनि अमेरिकी खेलाड़ीलाई म्याचमा फर्किने मौका दिइनन्। सबालेंकाले लगातार ऐसको साथ म्याच जितिन्। गत राउण्डमा क्यानाडाकी १९ वर्षीय खेलाड़ी भिक्टोरिया एमबोकोलाई पराजित गर्ने सबालेंकाले भनिन्, गत केही राउण्डमा युवाहरूले मलाई कठोर चुनौती दिइन्। जोविच पनि असाधारण खेलाड़ी हुन्। म्याच कठिन थियो अनि स्कोरलाई हेरेर मात्र बुझ्न सकिँदैन। उनले असाधारण प्रदर्शन गरिन् अनि मलाई आफ्नो खेलको स्तर बढ़ाउन प्रेरित गरिन्।

About Author

Advertisement