वृन्दावन: उत्तर प्रदेशको वृन्दावनमा केसी घाट नजिक शुक्रबार ठूलो दुर्घटना भएको छ। श्रद्धालु बोकेको डुंगा पन्टुन पुलसँग ठोक्किएर यमुना नदी मा पल्टिँदा १० जनाको मृत्यु भएको छ भने १५ जनालाई सकुशल उद्धार गरिएको छ।
प्रहरी र स्थानीय प्रशासनका अनुसार डुंगामा करिब २५ श्रद्धालु सवार थिए। दुर्घटनापछि उद्धार टोली र गोताखोरहरू तुरुन्तै परिचालन गरी खोज तथा उद्धार कार्य सञ्चालन गरिएको थियो।
घटनामा परी घाइते तथा प्रभावित श्रद्धालुहरूको उपचार भइरहेको छ। प्रारम्भिक जानकारी अनुसार श्रद्धालुहरूको समूह लुधियाना र मुक्तेश्वरबाट दर्शनका लागि आएको थियो।
योगी आदित्यनाथ ले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार कार्यलाई तीव्र बनाउन निर्देशन दिएका छन्। उनले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।










