नयाँ दिल्ली: महाराष्ट्रको बारामतीमा भएको चार्टर्ड विमान दुर्घटनामा उपमुख्यमन्त्री अजित पवारसहित पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ।
बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा विमान रनवेबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको थियो। प्रारम्भिक चरणमा अजित पवार गम्भीर घाइते भएको बताइए पनि उपचारका क्रममा उनको मृत्यु भएको आधिकारिक रूपमा पुष्टि गरिएको हो।
विमानमा उपमुख्यमन्त्री पवारसँगै उनका निजी सहायक, सुरक्षाकर्मी तथा उडान कर्मचारी सवार थिए। दुर्घटनापछि विमानमा आगलागी भएको र बाक्लो धुवाँ उठेको दृश्यहरू सार्वजनिक भएका छन्। घटनास्थलमा उद्धार टोली तथा चिकित्सकहरू परिचालन गरिएको थियो।
दुर्घटनाको कारणबारे सम्बन्धित निकायले अनुसन्धान सुरु गरेको जनाइएको छ। घटनासम्बन्धी थप विवरण आउन बाँकी छ।









