विङ्स इन्डिया सम्मेलनमा सिक्किमका पर्यटनमन्त्री भोटियाको सहभागिता

FB_IMG_1769711033504

हैदराबाद: सिक्किम सरकारका पर्यटन तथा नागरिक उड्डयन मन्त्री टीटी भोटियाले हैदराबादस्थित बेगुम्पेट विमानस्थलमा आयोजना6 गरिएको एसियाकै सबैभन्दा ठूलो नागरिक उड्डयन प्रदर्शनी तथा सम्मेलन ‘विङ्स इन्डिया’ मा सहभागिता जनाएका छन्।
दुई वर्षमा एकपटक आयोजना हुने यस सम्मेलनले नीति निर्माता, उड्डयन नियामक निकाय, एयरलाइन्स, विमान निर्माता, विमानस्थल सञ्चालक, लगानीकर्ता, स्टार्टअप तथा अन्तर्राष्ट्रिय प्रतिनिधिमण्डललाई एकै मञ्चमा ल्याई नागरिक उड्डयनको वर्तमान अवस्था र भविष्यबारे व्यापक विमर्श गर्ने अवसर प्रदान गर्दछ।
सम्मेलनका क्रममा मन्त्री भोटियाले क्षेत्रीय हवाई सम्पर्क विस्तार, दिगो उड्डयन, विमानस्थल विकास, हेलिकप्टर सेवा, उन्नत हवाई गतिशीलता तथा उड्डयनमार्फत पर्यटन प्रवर्द्धनजस्ता विषयमा केन्द्रित उच्चस्तरीय नीति संवाद, अन्तरक्रियात्मक सत्र तथा बी–टु–बी र बी–टु–जी बैठकहरूमा सहभागिता जनाए। उनले स्थिर तथा उडान प्रदर्शनमा रहेका विमानहरूको अवलोकन गर्नुका साथै उड्डयन प्रविधिसम्बन्धी प्रदर्शनीहरू पनि अवलोकन गरे।
मन्त्री भोटियाले हरित उड्डयन, डिजिटल हवाई नेभिगेशन, तालिम, एमआरओ सेवा तथा दिगो उड्डयन इन्धनसम्बन्धी नवप्रवर्तन प्रस्तुत गर्ने उद्योगका अग्रणीहरूसँग छलफल गरेका थिए। साथै, एयरलाइन्स, विमानस्थल विकासकर्ता तथा उड्डयन सेवा प्रदायकका प्रमुख सरोकारवालाहरूसँग अन्तिम बिन्दुसम्मको हवाई सम्पर्क विस्तार, हेलिपोर्ट तथा हेलिकप्टर सेवा सुदृढीकरण र सिक्किमजस्ता दुर्गम तथा पहाडी क्षेत्रमा पहुँच सुधार गर्ने सम्भावनाबारे विचार–विमर्श गरिएको जनाइएको छ।
कार्यक्रमका अन्तरक्रियात्मक सत्रहरूमा मन्तव्य राख्दै मन्त्री भोटियाले सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङको दूरदर्शी नेतृत्व र प्रगतिशील सोचको विशेष चर्चा गरे। मुख्यमन्त्रीको स्पष्ट दृष्टिकोणले नागरिक उड्डयन पूर्वाधारको जिम्मेवार विस्तार, क्षेत्रीय सम्पर्क सुदृढीकरण तथा दिगो विकासलाई प्राथमिकता दिएको उनले बताए।
यस दृष्टिले सिक्किमलाई पर्यावरणमैत्री र प्रिमियम पर्यटन गन्तव्यका रूपमा विकास गर्दै हिमाली पारिस्थितिकी तन्त्रको संरक्षणसहित सन्तुलित विकास सुनिश्चित गर्ने लक्ष्य राखिएको मन्त्री भोटियाको भनाइ छ।

About Author

Advertisement