गोरुबथान: वन बस्तीको अधिकार तथा छुटेका वन गाउँसम्बन्धी विषयमा विधानसभामा के कस्ता प्रस्ताव र मुद्दा उठाइएका छन् भन्नेबारे स्पष्ट जानकारी सार्वजनिक गर्न गोरुबथानका जोन ब्रिटो बेनर्जी, सिडब्ल्युसी,आइजोजेएफ ले माग गरे।
सिडब्ल्युसीका जोन ब्रिटो बेनर्जीले एक वक्तव्य जारी गर्दै कालेबुङका विधायक रूदेन सादा लेप्चाले यस विषयमा विधानसभामा राखेका कुरा तथा प्रस्तावहरू प्रेसमार्फत दस्तावेजसहित सार्वजनिक गर्नुपर्ने बताए।
उनले भने, “वन बस्तीको अधिकार तथा छुटेका वन गाउँसम्बन्धी विषयमा विधायकज्यूले विधानसभामा के कस्ता कुरा र प्रस्तावहरू राख्नुभएको छ, त्यसको स्पष्ट जानकारी सर्वसाधारण जनतालाई दिनुपर्छ। प्रेसमार्फत दस्तावेज नै प्रस्तुत गरियोस्, तर ढाँटेको राजनीति नगरियोस्।
बेनर्जीले वन क्षेत्रमा बसोबास गर्ने जनताको अधिकारसँग सम्बन्धित यस्ता संवेदनशील विषयमा पारदर्शिता आवश्यक रहेको पनि उल्लेख गरे। उनका अनुसार वास्तविक तथ्य र दस्तावेज सार्वजनिक गरिएमा जनताले सही जानकारी पाउन सक्नेछन्।
वन बस्ती तथा छुटेका वन गाउँसम्बन्धी अधिकारका विषयमा हाल विभिन्न स्थानमा बहस र छलफल चलिरहेका छन्। यस्तो अवस्थामा जनतामाझ स्पष्ट जानकारी दिनु आवश्यक रहेको उनले बताए।









