नयाँ दिल्ली: भारतीय लोकसभामा सोमबार विपक्षी दलका नेता राहुल गान्धी र सत्तापक्षबीच तीव्र नोकझोंक भएको छ। पूर्व सेना प्रमुखको अप्रकाशित संस्मरणको मसौदाबाट केही अंश पढ्ने प्रयास गरेपछि रक्षा मन्त्री राजनाथ सिंह र गृह मन्त्री अमित शाहले कडा आपत्ति जनाएका थिए।
राहुल गान्धीले पूर्व सेना प्रमुख एम.एम. नरवणे लिखित ‘फोर स्टार्स अफ डेस्टिनी’ नामक पुस्तकको मसौदाको हवाला दिँदै प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षा मन्त्री राजनाथ सिंहमाथि प्रश्न उठाउने प्रयास गरेका थिए। सत्तापक्षले भने अप्रकाशित पुस्तक वा पत्रिकाको सामग्री सदनमा उद्धृत गर्न नमिल्ने भन्दै विरोध जनाएको थियो।
रक्षा मन्त्री राजनाथ सिंहले राहुल गान्धीका अभिव्यक्तिहरू काल्पनिक रहेको आरोप लगाउँदै सदनलाई भ्रमित पार्ने प्रयास भएको बताए। गृह मन्त्री अमित शाहले संसदीय प्रक्रिया र मर्यादाको पालना गर्न आग्रह गरे।
सदनमा लगातार हंगामा भएपछि लोकसभा अध्यक्ष ओम बिरलाले अपराह्न २ बजेर ९ मिनेटमा बैठक तीन बजेसम्मका लागि स्थगित गरे। तर अवस्था सहज नबन्दा बैठक पुनः साँझ चार बजेसम्मका लागि स्थगित गरियो।
राष्ट्रपतिको सम्बोधनमाथिको धन्यवाद प्रस्तावमा बोल्दै राहुल गान्धीले चीनसँग भारतको सैन्य तनावबारे चर्चा गर्न खोजेको बताए। अध्यक्ष बिरलाले भने पटक–पटक सम्बोधनसम्बन्धी विषयमै सीमित रहन निर्देशन दिएका थिए।
उक्त समय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सदनमा उपस्थित थिए। दिनभरको घटनाक्रमले लोकसभाको वातावरण निकै तनावपूर्ण बनेको थियो।









