लोकसभामा प्रश्नकाल सञ्चालन, विपक्षको वाकआउट

698aa2647cc5e-bjp-mp-letter-to-om-birla-101325310-16x9

नयाँ दिल्ली: केही दिनदेखि जारी गतिरोधपछि बुधबार लोकसभामा प्रश्नकाल नियमित रूपमा सञ्चालन भएको छ। तर आठ सांसदको निलम्बन फिर्ता गर्न माग गर्दै विपक्षी दलहरूले सदनबाट वाकआउट गरेका छन्।
बैठक सुरु भएपछि अध्यक्षता गरिरहेका पी.सी. मोहनले प्रश्नकाल अघि बढाएका थिए। यस क्रममा विपक्षी सांसदहरूले गत साता आसनको अवमाननाको आरोपमा निलम्बित आफ्ना आठ सहकर्मीको निलम्बन खारेज गर्न माग गर्दै नाराबाजी गरेका थिए।
नाराबाजीका बीच पनि करिब आधा घण्टासम्म प्रश्नकाल सञ्चालन भयो। ‘निलम्बन फिर्ता गर’ भन्ने नाराका बीच कार्यवाही चलेपछि विपक्षी सदस्यहरू सदनबाट बाहिरिएका हुन्।
सामान्यतया लोकसभा अध्यक्षले नै प्रश्नकाल सञ्चालन गर्ने भए पनि सचिवालय स्रोतका अनुसार अध्यक्ष ओम बिर्लाले आफूविरुद्ध दर्ता गरिएको पदमुक्ति प्रस्तावको टुंगो नलागेसम्म अध्यक्षीय आसनमा नबस्ने निर्णय गरेका छन्। मंगलबारदेखि बिर्ला कार्यवाहीमा सहभागी छैनन् र बुधबार पनि प्रश्नकालका बेला मोहनले नै अध्यक्षता गरेका थिए।
विपक्षले मंगलबार बिर्लालाई पदबाट हटाउन लोकसभा महासचिवसमक्ष प्रस्ताव दर्ता गरेको थियो। विपक्षले सदन सञ्चालनमा पक्षपात गरेको, कांग्रेस सांसदहरूमाथि झुटा आरोप लगाएको तथा पदको दुरुपयोग गरेको आरोप लगाएको छ।
गत साता राष्ट्रपति अभिभाषणमाथिको धन्यवाद प्रस्तावको छलफलका क्रममा विपक्षी सांसदहरूले आसन नजिकै प्रदर्शन गरेका थिए। नेता प्रतिपक्ष राहुल गान्धीलाई पूर्व सेना प्रमुख एम.एम. नरवणेका अप्रकाशित संस्मरण उल्लेख गर्न अनुमति नदिइएको विरोधमा उनीहरूले कागज उछाल्दै प्रदर्शन गरेका थिए। त्यस घटनालाई सदनको अवमानना ठहर गर्दै कांग्रेसका सात र मार्क्सवादी कम्युनिस्ट पार्टीका एक सांसदलाई चालु बजेट अधिवेशनको बाँकी अवधिका लागि निलम्बन गरिएको छ।
निलम्बित सदस्यहरूमा कांग्रेसका अमरिंदर सिंह राजा वारिङ, गुरदीप सिंह औजला, हिबी इडेन, डीन कुरियाकोसे, प्रशान्त पडोले, किरण कुमार रेड्डी र मणिकम ट्यागोर र सीपीआई(एम) सांसद एस वेंकटेशन रहेका छन्।

About Author

Advertisement