लैङ्गिक समानताको सन्देश दिँदै विवादमा रानी

IMG-20260130-WA0056

मुम्बई: जुन देशमा नारीशक्तिको पूजा गरिन्छ, त्यही भूमिमा के महिलाको अपमान भइरहेको छ? आफ्नो करियरका तीन दशक पूरा भएको अवसरमा हालै रानी मुखर्जीले यही प्रश्न उठाउँदै चलचित्र ‘मर्दानी ३’ को झलक सार्वजनिक गरेकी थिइन्। यस चलचित्रमा उनी महिला तस्करीविरुद्ध कडा प्रहरी अधिकृतको भूमिकामा देखिएकी छन्, जहाँ बलिउडकी वास्तविक ‘क्विन’ ले फेरि एकपटक आफ्नो दमदार छाप छोडेकी छन्। ट्रेलर सार्वजनिक हुनासाथ बलिउडका कलाकारहरूले ‘मर्दानी’ मार्फत उनको तीन दशकको करियर पूरा भएकोमा शुभकामनाको वर्षा गरे।
यही चलचित्रको प्रचारका क्रममा लैङ्गिक समानताको सन्देश दिन खोज्दा रानी मुखर्जी एक विवादास्पद टिप्पणी गर्न पुगिन्। अभिनेत्रीले भनिन्, “परिवारमा पतिको भन्दा पत्नीको आवाज अझ बुलन्द हुनुपर्छ!” यस अभिव्यक्तिलाई लिएर हाल विवादको आँधी चलेको छ।
तीन दशक लामो अभिनय करियरमा अहिलेसम्म रानी मुखर्जी प्रायः विवादबाट टाढै रहँदै आएकी छन्। उनी सधैं महिला सशक्तीकरणको पक्षमा आवाज उठाउँदै प्रशंसा बटुल्दै आएकी छिन्। तर यसपटक नयाँ चलचित्रको प्रचारका क्रममा दिएको उनको भनाइले उनलाई आलोचनाको घेरामा ल्याएको छ। एक अन्तर्वार्तामा रानीले भनिन्, “घरमा महिलाहरूले नै उच्च स्वरमा बोल्नुपर्छ।”
तर आफ्नो भनाइको कारण पनि रानीले स्वयं स्पष्ट पारेकी छन्। उनका अनुसार, “सन्तानको शिक्षाको पहिलो खुड्किलो घरबाटै सुरु हुन्छ। छोराहरू घरमै केटीहरूसँग कसरी व्यवहार गरिन्छ भन्ने कुरा सिक्छन्। यदि कुनै बच्चाले दिनहुँ घरमा आफ्नी आमामाथि दुर्व्यवहार भइरहेको देख्छ भने, उसले सोच्न थाल्छ, यदि मेरी आमासँग यस्तो व्यवहार गर्न सकिन्छ भने, अरू कुनै पनि महिलासँग पनि यस्तो गर्न सकिन्छ। त्यसैले पतिहरूले आफ्ना पत्नीहरूसँग व्यवहार गर्दा जिम्मेवार हुनुपर्छ, किनकि छोराछोरीहरूले आफ्ना बाबुलाई हेरेर नै महिलालाई कसरी सम्मान गर्ने भन्ने कुरा सिक्छन्।”
यतिमै नरोकी रानीले थपिन्, “कुनै पनि पुरुषले कहिल्यै पनि आफ्नी पत्नीप्रति चिच्याएर कुरा गर्नु हुँदैन। बरु पत्नीलाई नै उच्च स्वरमा बोल्ने अधिकार हुनुपर्छ।” उनले विद्यालय जीवनका बेला एकजना केटा साथीलाई थप्पड हानेको घटनाको पनि मजाकिया शैलीमा उल्लेख गरिन्।
तर उनको यस भनाइलाई लिएर सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया देखिन थालेको छ। केहीले भनेका छन्, “एक स्टारका रूपमा आफ्ना शब्द र सोचमा संयम राख्नुपर्छ।” कसैले व्यंग्य गर्दै लेखेका छन्, “मजाकमा भनिएका कुरा पनि यस विषयमा मजाक होइनन्।” कतिपयले प्रश्न उठाएका छन्, “यो कस्तो व्यवहार हो? किन कसैले विरोध गरिरहेको छैन? केवल वरिष्ठ अभिनेत्री भएकै कारण जे मन लाग्यो त्यही भन्न पाइन्छ र?” यस्ता विभिन्न आलोचनाले सामाजिक सञ्जाल भरिएको छ।

About Author

Advertisement