लुम्बिनी-नेपाल मिनी म्याराथन थाइल्याण्डमा आयोजना हुने

IMG-20251208-WA0089

बिर्तामोड: गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी-नेपाल मिनी म्याराथन आयोजना हुने भएको छ। विश्व शान्तिका प्रणेता गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीको प्रचार गर्ने उद्देश्यले आगामी बुद्ध जयन्तीको अबसरमा यो कार्यक्रम आयोजना गर्न लागिएको हो। यो जानकारी नेपाली दूतावासले दिएको हो। प्रतियोगितामा १० किलोमिटर र ५ किलोमिटर दौड समावेश हुनेछ।
नेपाली दूतावासले आइतबार थाइल्याण्डका सम्बन्धित संस्थाहरूसँगको सहकार्यमा छलफल कार्यक्रम आयोजना गरेको थियो। छलफलमा नेपाल एयरलाइन्स, गैरआवासीय नेपाली संघ-थाइल्याण्ड राष्ट्रिय समन्वय परिषद्, नेपाली मूलका जनता संघ, थाइ-नेपाल संघ, थाइ-नेपाल मैत्री संघ, संयुक्त राष्ट्र संघका निकायहरूमा काम गर्ने नेपालीहरू र विभिन्न पेशाका नेपाली उद्यमीहरूका साथै म्याराथन आयोजनामा ​​संलग्न केही थाई नागरिकहरू सहभागी थिए।
कार्यक्रमको लागि थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीको संरक्षकत्वमा र उपप्रमुख मोतीबहादुर श्रीशको संयोजकत्वमा थाइल्याण्डमा स्थापित सबै नेपाल सम्बन्धित संघ र संस्थाका प्रतिनिधिहरूलाई समावेश गर्ने आयोजक समिति गठन गरिएको छ।
नेपाली दूतावासले यस कार्यक्रमको उद्देश्य गौतम बुद्धको जन्मस्थल लुम्बिनी, नेपाली पर्यटन, नेपाली संस्कृति र नेपालको सांस्कृतिक तथा निर्यातयोग्य वस्तुहरूको प्रवर्द्धन गरी नेपालको पहिचानलाई प्रभावकारी रूपमा स्थापित गर्ने जानकारी दिएको छ।

About Author

Advertisement