काठमांडू: प्रतिनिधिसभा निर्वाचनमा दुईतिहाइ नजिक बहुमत ल्याएर नयाँ सरकार बनाउने तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ताले सत्ता हस्तान्तरणको सङ्घारमा अन्तरिम सरकारले गरेका केही ‘विवादित’ नियुक्तिबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराइने बताएका छन्।
गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा र प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्ति दिइएको विषयमा प्रधानमन्त्री सुशीला कार्कीले आलोचना खेपिरहेकी छिन्।
भदौ २३–२४ को जेन जी आन्दोलनले पूर्व सरकारले अपदस्थ भएपछि अन्तरिम प्रधानमन्त्रीका रूपमा कार्कीलाई प्रस्ताव गरेका जेन जी अभियानकर्मीहरूले समेत पछिल्ला नियुक्तिबारे प्रश्न उठाइरहेका छन्।
रास्वपा प्रवक्ता मनीष झाले भने कि निर्वाचित सरकारले सत्ता सम्हाल्न लाग्दा भएका नियुक्तिबारे उठिरहेका प्रश्नहरू जायज छन्। उनले भने, “एउटा निर्वाचन सकिएर नयाँ सरकार निर्माणको दैलोमै रहेको अवस्थामा यस्ता नियुक्तिहरू सर्वस्वीकार्य नहुने स्वाभाविक छ। यी नियुक्तिहरू अहिले नगर्दा हुन्थ्यो वा आगामी सरकारले निष्पक्षताका आधारमा गर्दा राम्रो देखिन्थ्यो।”
नवनिर्वाचित सांसद र केन्द्रीय तहका नेताहरूले पनि प्रधानमन्त्री कार्कीले गरेका नियुक्तिबारे प्रश्न उठाइरहेका छन्। रास्वपाका नेता सागर ढकालले भने, “जाँदाजाँदै हिजो गरेका निर्णयमा भएको गल्ती सच्याउनुहुने आशा गर्छौँ। न कुनै विज्ञता, न अनुभव – मात्र योग्यता हेरेर प्रमुख स्वकीय सचिव; यत्तिको आधारमा प्रकृति संरक्षण कोषजस्तो जिम्मेवार निकाय सुम्पिन मिल्छ र?”
जेन जी अभियानकर्मी समेत रहेका केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले भने, “हामीले सडकमा उठाएको आवाज सत्ता परिवर्तनका लागि मात्र थिएन; सत्ता अभ्यासको संस्कार बदल्नका लागि थियो। त्यसैले आज पनि प्रश्न उही छ–राजनीति आदर्शको आधारमा चल्ने हो कि कृपाको आधारमा?”
पूर्व शिक्षामन्त्री महावीर पुन र सुमना श्रेष्ठले पनि सत्ता हस्तान्तरणअघि भएका नियुक्तिबारे प्रश्न उठाएका छन्। पुनले भने, “प्रधानमन्त्रीज्यूको इज्जत धूलोमा नमिसियोस् भन्नका लागि त्यो पद नलेऊ।” पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले लेखेकी छिन्, “अरूले गरे नातावाद, कृपावाद; आफूले गरे योगदानको कदर।”
रास्वपा प्रवक्ता झाले भनेका छन् कि प्रश्न उठाउनु जायज र लोकतन्त्रका लागि महत्वपूर्ण छ। उनले भने, “भविष्यमा यस्तो निर्णय भएमा प्रश्न उठाइरहनु लोकतन्त्रको मजबूतीका लागि जरुरी छ।”
प्रवक्ता झाका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री कार्कीलाई राजनीतिक सन्देश पठाउने योजना बनाएको छ। उनले भने, “निर्वाचन शान्तिपूर्वक सम्पन्न भयो; त्यसपछि यस्ता निर्णयहरूले बेकारमा सफल नेतृत्वको उपमा पाइसकेको व्यक्तिहरू यसमा नअल्झिए राम्रो हुन्छ।”
रास्वपाले आवश्यक–अनावश्यक राजनीतिक नियुक्तिहरूको पुनर्विचार गरिने बताएको छ। “अनावश्यक आयोग-नियोग सिर्जना गरेर राजनीतिक व्यवस्थापनका स्थानहरू सिर्जना गर्ने कार्य पुनर्विचार गर्नु पर्छ,” प्रवक्ता झाले बताए।
यस विषयमा प्रधानमन्त्रीको सचिवालयसँग सोधिएको थियो, तर समाचार तयार हुँदा सम्म जवाफ प्राप्त भएको छैन।









