नयाँ दिल्ली: आईपीएल २०२६ सीजन अघि राजस्थान रोयल्सलाई नयाँ कप्तान प्राप्त भयो। राजस्थान फ्रेञ्चाइजीले रियान परागलाई टीमको कप्तान नियुक्त गरेको छ। उनले सञ्जु सेमसनको स्थानमा कप्तानी सम्हाल्नेछन्। सेमसनले यस सीजनदेखि चेन्नई सुपर किंग्स (सीएसके)-को प्रतिनिधित्व गर्नेछन्। राजस्थान रोयल्सले सोशल मीडियाको माध्यमले नयाँ कप्तानको घोषणा गरेको छ। राजस्थानले आईपीएल २०२६-को निम्ति भएको मिनी लिलामी अघि सेमसनलाई सीएसके-सँग ट्रेड गरेको थियो। राजस्थानले सेमसनको स्थानमा सीएसके-का २ जना अलराउण्डर सेम कुरेन र रविन्द्र जडेजाललाई टीममा सामेल गरेको थियो। राजस्थानसँग कप्तानको रूपमा जडेजाको पनि विकल्प थियो तर फ्रेञ्चाइजीले कोर ग्रुपबाट नै कप्तान चयन गरेको छ। परागले गत केही सालदेखि लगातार राजस्थानको प्रतिनिधित्व गरिरहेका छन् अनि गत सीजनमा चोटले गर्दा सेमसन केही म्याचमा बाहिर रहँदा परागले नै टीमको कप्तानी सम्हालेका थिए। गत सीजनमा सेमसनले चोटले गर्दा ८ वटा म्याच खेल्न सकेका थिएनन्। उनको अनुपस्थितिमा परागले टीमको अगुवाई गरेका थिए। परागले कप्तानको रूपमा चाहिँ असल प्रदर्शन गर्न सकेका थिएनन् अनि उनको कप्तानीमा टीमले ८-मा केवल २ वटा म्याच जितेको थियो। राजस्थानको निम्ति आईपीएल २०२६-को सीजन अलग हुनेछ कारण टीम नयाँ कप्तान अनि नयाँ मुख्य प्रशिक्षकको मार्गदर्शनमा मैदानमा ओर्लिनेछ। राहुल द्रविड़को स्थानमा यसपाली कुमार संगकारालाई मुख्य प्रशिक्षकको भूमिकामा देखिनेछ। राजस्थानको निम्ति गत सीजन असल रहेको थिएन अनि टीमले १४-मा केवल ४ वटा म्याच जित्न सकेको थियो। यसरी टीमले पोइण्ट्स टेबलमा नवौं स्थानमा रहेर अभियान समाप्त गरेको थियो। परागले २०१९-मा आईपीएल पदार्पण गरेका थिए अनि उनले अहिलेसम्म ८४ वटा म्याच खेलिसकेका छन्। २०२४-को सीजनमा उनी असाधारण फर्ममा थिए अनि उनले १५०-को स्ट्राईक रेटले ५७३ रन बनाएका थिए।










