सिलिगुडी: दार्जिलिङ लोकसभा सांसद राजु बिष्टलाई आज रंगापानी रेल ओभर ब्रिज (आरओबी) को शिलान्यास गर्ने सौभाग्य प्राप्त भयो। यो उत्तरबंगालको रंगापानी, फान्सिदेवा, खोरीबारी, सिलिगुडी तथा आसपासका क्षेत्रका मानिसहरूका लागि एक महत्वपूर्ण र लामो समयदेखि प्रतीक्षित परियोजना हो। यस परियोजनाको सम्पूर्ण खर्च केन्द्र सरकारले व्यहोर्दैछ, जसको लागत ₹६९.७९ करोड रुपैयाँ छ। सामाजिक सञ्जालमार्फत जानकारी दिँदै सांसद बिष्टले यसबारे खुशी व्यक्त गरे।
यस आरओबीको माग धेरै समयदेखि भइरहेकै थियो। बिष्टले यो विषय संसदमा धेरैपटक उठाए र रेलमन्त्रीलाई पनि पत्र लेखे। कुनै क्रसिङमा ‘टोटल भेहिकल युनिट’ (टीभीयू) एक लाख पुगेपछि त्यहाँ आरओबीका लागि पात्रता बनिन्छ, तर रंगापानी क्रसिङको टीभीयू दस लाख पुगे पनि आरओबी बन्न सकेको थिएन सांसदले संजालमा उल्लेख गरे।

उल्लेखित छ परियोजना प्रारम्भमा ढिलो हुनुको कारण पश्चिम बंगाल सरकारले निर्माण लागतमा सहभागिता जनाउन अस्वीकार गर्नु थियो। त्यसपछि केन्द्र सरकारले सम्पूर्ण खर्च वहन गर्ने निर्णय गर्यो। अगस्त २०२५ मा रेल्वेले रकम स्वीकृत गरे पनि पश्चिम बंगाल सरकारबाट ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) पाउन ढिलाइ भएकै कारण काम अघि बढ्न सकेन। प्रक्रिया छिटो होस् भनेर विष्टले स्वयं धेरैपटक राज्य अधिकारीहरूसँग सम्पर्क गरेको कुरा संजाल मार्फत बताए। स्मरण रहोस् निर्माण सम्पन्न भएपछि रंगापानी आरओबीले यातायात जाम घटाउनेछ र सम्पर्क कनेक्टिभिटीलाई अझ सुदृढ बनाउनेछ। यसले आर्थिक वृद्धि अघि बढाउनेछ र जनताको दैनिक आवतजावतलाई अझ सुरक्षित तथा सहज बनाउनेछ भनि सांसदले संजालमा आफ्नो अभिव्यक्ति राखे।
यस क्षेत्रका जनताको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदी र रेलमन्त्री अश्विनी वैष्णवप्रति सांसद विष्टले कृतज्ञता व्यक्त गरे साथै भने प्रधानमन्त्री र रेलमंत्रीले यस क्षेत्रमा पूर्वाधार विकासलाई प्राथमिकता दिए।

रंगापानी, फान्सिदेवा र आसपासका क्षेत्रका सबै नागरिकको सहयोग र आजको कार्यक्रममा सहभागिताका लागि पनि सांसदले धन्यवाद दिए। अन्तमा सांसदले सबैले मिलेर अझ राम्रो र अझ जोडिएको भविष्य निर्माण गर्ने दिशामा निरन्तर काम गर्दै जाने प्रतिबद्धता दोहोर्याए।










