युगान्डा भ्रमणका लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा

IMG-20250303-WA0211

काठमाडौँ: नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मार्च ७ देखि १६ तारिखसम्म युगान्डासँग क्रिकेट सिरिज खेल्ने भएको छ।
सिरिजका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको छ। क्यानले दुई साता बन्द प्रशिक्षणमा रहेका १८ खेलाडीबाट अन्तिम टोलीको नाम सार्वजनिक गरेको हो। 
टोलीमा साना प्रविन र रिया शर्माले पहिलो पटक स्थान बनाउनुभएको छ। प्रशिक्षणमा रहेका सीमाना केसी, सबनम राई, शाेभा रोकाय र मनीषा उपाध्याय बाहिरिएका छन्। 
टी–२० सिरिजमा आयोजक युगान्डासहित नेपाल, हङकङ र नामिबियाको सहभागिता रहनेछ। सहभागी टोलीले एक आपसमा दुई पटक प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीबिच उपाधिका लागि भिडन्त हुनेछ।
नेपालले आफ्नो पहिलो खेल मार्च ८ तारिख नामिबयासँग खेल्दै सिरिजको सुरुवात गर्नेछ। नेपालले दोस्रो खेल मार्च ९ मा युगान्डा र तेस्रो खेल मार्च १० मा हङकङसँग खेल्नेछ। यस्तै नेपालले पुन: मार्च १२ मा नामिबिया, १३ मा युगान्डा र १४ मा हङकङको सामना गर्नेछ। 
युगान्डा जाने खेलाडी टोलीमा कप्तान बर्मासहित रुविना क्षेत्री, विन्दु रावल, पूजा महतो, सम्झना खड्का, ममता चौधरी, राजमति ऐरी, रोमा थापा, रचनाकुमारी चौधरी, कविता जोशी, ईश्वरी विष्ट, अलिशाकुमारी यादव, साना प्रविन र रिया शर्मा छिन्।

About Author

Advertisement