सिलगढी: बामनहाटबाट सिलगढी जङ्सनसम्म फालाकाटा, धुपगुडी र जलपाइगुडी रोड स्टेशन हुँदै चल्ने यात्री रेलगाडी पुनः सञ्चालन गर्नुपर्ने मागसहित विभिन्न माग राख्दै तीन वटा सङ्गठनले रेलको अलीपुरद्वारस्थित प्रभागीय प्रबन्धकलाई ज्ञापनपत्र बुझाएका छन्।
कोचबिहार दिनहाटा रेलयात्री मञ्च, दिनहाटा नागरिक मञ्च र बामनहाट नागरिक मञ्चको संयुक्त पहलमा सोमबार अलीपुरद्वार प्रभागका प्रभागीय रेल प्रबन्धकलाई पाँच बुँदे मागसहितको ज्ञापनपत्र बुझाउँदै ती मागहरूबारे आवश्यक कदम चाल्न अनुरोध गरिएको हो।
उक्त कार्यक्रममा जयगोपाल भौमिक, तापस बोस, धिरेन्द्रनाथ राय लगायत धेरै व्यक्तिहरू उपस्थित थिए। तीनै सङ्गठनका तर्फबाट बामनहाट–सिलगढी जङ्सन (धुपगुडी, फालाकाटा, जलपाइगुडी रोड र सिलगढी टाउन मार्ग हुँदै) रेलगाडी पुनः सञ्चालन गर्न, उत्तरबङ्ग एक्सप्रेसलाई कोचबिहार टाउनमा पुनः रोक्ने व्यवस्था गर्न, दिनहाटा–सिलगढी टाउन यात्री रेलगाडी पुनः सञ्चालन गर्न वा दिनहाटाबाट बागडोगरा सम्म एउटा अन्तरनगर रेलगाडी सञ्चालन गर्नलगायतका विभिन्न मागहरू राखिएको छ।
यसका साथै महत्वपूर्ण न्यू कोचबिहार रेल जङ्सनमा पिट लाइन र सिक लाइनको काम छिटो सुरु गर्न तथा बामनहाट नजिकै पाथरशन रेल फाटकमा एउटा भूमिगत मार्ग निर्माण गर्न पनि माग गरिएको छ।
सङ्गठनका नेताहरूले बताएअनुसार माथिका मागहरूसँगै बामनहाट–सिलगढी जङ्सन अन्तरनगर एक्सप्रेस, जसलाई कोचबिहारबाट सिलिगुडी पुग्न करिब साढे सात घण्टा लाग्छ, त्यसलाई सबै स्थानमा रोकिने स्थानीय रेलगाडीका रूपमा सञ्चालन गर्न पनि माग गरिएको छ।
यदि यी मागहरूबारे रेल विभागले आवश्यक कदम नचाले भविष्यमा ठूला आन्दोलन गर्ने निर्णय लिन सकिने चेतावनी पनि दिइएको छ।








