म्याच रद्द हुँदा जिम्बाब्वे सुपर ८-मा, अष्ट्रेलियाको बिदाई

IMG-20260218-WA0002

पल्लेकेले: जिम्बाब्वे र आयरल्याण्डबीच टी२० वर्ल्ड कप २०२६-मा ग्रुप बी-को म्याच वर्षाले गर्दा रद्द हुँदा दुवै टीमलाई १-१ पोइण्ट हासिल भयो। यसको साथै जिम्बाब्वेले ग्रुप बी-बाट दोस्रो टीमको रूपमा सुपर ८ चरणमा स्थान बनायो जबकि २०२१-को च्याम्पियन अष्ट्रेलियाको चाहिँ यात्रा ग्रुप चरणमै समाप्त भयो। श्रीलंकाको पल्लेकेलेमा वर्षाले गर्दा मंगलवार जिम्बाब्वे र आयरल्याण्डबीच म्याचमा टस पनि हुन सकेन। ग्रुप बी-बाट श्रीलंकाले अगावै सुपर ८ चरणको निम्ति क्वालीफाई गरिसकेको छ। जिम्बाब्वेले तीनवटा म्याचमा ५ पोइण्ट्सको साथ ग्रुपमा दोस्रो स्थान हासिल गऱ्यो। अब अष्ट्रेलियाले आफ्नो अन्तिम म्याच जिते पनि ४ पोइण्ट्स मात्र पुग्नेछ। अष्ट्रेलियाको निम्ति जारी टी२० वर्ल्ड कपमा यात्रा चरम निराशाजनक रह्यो। प्रमुख खेलाड़ीहरूका चोटसँग जुझिरहेको अष्ट्रेलियालाई विशेषगरी जिम्बाब्वेविरुद्ध शुक्रवार खेलिएको म्याचको हारले पिरोल्यो। त्यसपछि सोमवार श्रीलंकाविरुद्ध म्याचमा पराजित हुँदा टीमको समस्या झन् बढ़्यो। अष्ट्रेलियाले अब आफ्नो अन्तिम म्याच २० फरवरीमा ओमानविरुद्ध खेल्नेछ। जिम्बाब्वेले वेष्ट इण्डिज र अमेरिकामा भएको गत टी२० वर्ल्ड कपको निम्ति क्वालीफाई पनि गर्न सकेको थिएन तर यसपाली असाधारण प्रदर्शन गर्दै सुपर ८-मा पुग्यो। जिम्बाब्वेले अब ग्रुप चरणको अन्तिम म्याच १९ फरवरीमा श्रीलंकाविरुद्ध खेल्नेछ। ग्रुप चरणबाट अघि बढ़ने जिम्बाब्वे सातौं टीम बनेको छ। अब एउटा स्थानको निम्ति अमेरिका, नीदरल्याण्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। सुपर ८-को पहिलो ग्रुप तय पनि भइसकेको छ। ग्रुप १-मा भारत, जिम्बाब्वे, दक्षिण अफ्रिका र वेष्ट इण्डिज रहनेछ। यसरी ग्रुप २-मा न्यूजील्याण्ड, ईंग्ल्याण्ड र श्रीलंकाले स्थान बनाइसकेको छ जबकि एउटा स्थानको निम्ति कुनै एउटा टीमले क्वालीफाई गर्नु बाँकी छ।

About Author

Advertisement