नयाँ दिल्ली: भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले व्यापार, रक्षा, ऊर्जा तथा महत्वपूर्ण प्रविधि लगायतका क्षेत्रमा द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने उद्देश्यले फ्रान्सका राष्ट्रपति इमैनुएल मैक्रोन सँग विस्तृत वार्ता गरेका छन्।
राष्ट्रपति म्याक्रों तीन दिने भारत भ्रमणका क्रममा मंगलबार बिहान मुम्बई आइपुगे। मुम्बईस्थित लोकभवनमा प्रधानमन्त्री मोदीले उनको हार्दिक स्वागत गरे। दुवै नेताले एकअर्कालाई अँगालो हालेर अभिवादन गरेपछि औपचारिक बैठक सम्पन्न भयो।
राष्ट्रपति म्याक्रों नयाँ दिल्लीमा आयोजित ‘एआई इम्प्याक्ट समिट’ मा सहभागी हुने कार्यक्रम रहेको छ। साथै भारत–फ्रान्स नवप्रवर्तन वर्षको शुभारम्भ समारोहमा पनि उनी उपस्थित रहनेछन्।
भारतले फ्रान्ससँग ११४ राफेल लडाकु विमान खरिद गर्ने प्रस्ताव स्वीकृत गरेपछि यो भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ। रक्षा सहयोग सुदृढ गर्नु र महत्वपूर्ण प्रविधिमा सहकार्य बढाउनु दुवै देशका प्राथमिक क्षेत्र मानिएका छन्।
प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत राष्ट्रपति म्याक्रोंको स्वागत गर्दै यो भ्रमणले द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन्।










