मौन अवधिअघि प्रचार अन्तिम दिनमा, निर्वाचन सामग्री केन्द्रतिर पठाइँदै

IMG-20260302-WA0047

काठमाडौं: मार्च ५ ( फागुन २१) गते बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज प्रचारप्रसारको अन्तिम दिन रहँदा देशैभरि राजनीतिक दल, उम्मेदवार र कार्यकर्ता अन्तिम चरणको चुनावी अभियानमा व्यस्त छन्। निर्वाचन आचारसंहिताअनुसार मतदान हुनुभन्दा ४८ घण्टाअघि ‘मौन अवधि’ सुरु हुने भएकाले आज रातिदेखि औपचारिक प्रचारप्रसार बन्द हुनेछ।
१६५ निर्वाचन क्षेत्रमा एकै चरणमा मतदान हुने यस निर्वाचनका लागि आवश्यक सामग्री सम्बन्धित मतदान केन्द्रतर्फ धमाधम पठाइँदैछ। दुर्गम जिल्लाहरूमा हेलिकप्टरमार्फत सामग्री ढुवानी भइरहेको छ। हुम्लालगायत उच्च हिमाली क्षेत्रमा सुरक्षा सतर्कतासहित सामग्री पुर्‍याउने काम तीव्र पारिएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले नेपाल टेलिभिजन र रेडियो नेपालमार्फत् देशवासीका नाममा सम्बोधन गर्दै मतदानमा सहभागी हुन आह्वान गरेकी छन्। उनले लोकतन्त्र सुदृढीकरणका लागि नागरिक सहभागिता अपरिहार्य रहेको उल्लेख गरिन्।
निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै आज राति १० बजेदेखि फागुन २२ गते बिहान ६ बजेसम्म नेपाल–भारत सीमाका नाका बन्द गर्ने निर्णय सम्बन्धित स्थानीय प्रशासनले गरेका छन्।
गत भदौमा भएको ‘जेन जी’ आन्दोलनपछि प्रतिनिधिसभा विघटन गरिएको थियो। त्यसैअनुसार तोकिएको समयभन्दा अगाडि नै निर्वाचन हुन लागेको हो।
यसपटक मतदाताले प्रत्यक्ष र समानुपातिक प्रणालीअन्तर्गत दुई वटा छुट्टाछुट्टै मतपत्रमार्फत मतदान गर्नेछन्। निर्वाचन आयोगले मतदान प्रक्रिया सरल बनाउने र बदर मत घटाउने उद्देश्यले सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम सम्पन्न भइसकेको जनाएको छ।
निर्वाचन आयोगले शान्तिपूर्ण, भयरहित र निष्पक्ष मतदानका लागि आवश्यक सबै तयारी पूरा भएको जनाएको छ।

About Author

Advertisement