झापा : चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनाको अवधिमा पूर्वी नाका काँकडभिट्टाबाट अलैंची, छुर्पीलगायत वस्तुको निर्यातमा वृद्धि भएको छ । साउनदेखि पुस मसान्तसम्मको ६ महिनामा ७ अर्ब १९ करोड ९५ लाख ४ हजार रुपैयाँ मूल्यबराबरको ३४ लाख ६१ हजार ३५० केजी अलैंची निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ ।
गत आव २०८१/८२ को सोही अवधिको तुलनामा चालु आवमा अलैंचीको निर्यात ५८ प्रतिशतले वृद्धि भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले बताए ।गत आवको साउनदेखि पुससम्म ४ अर्ब ५५ करोड ७० लाख ६९ हजार मूल्यबराबरको अलैंची पूर्वी नाकाबाट निर्यात भएको थियो । कुकुर र बिरालोको खानाका रूपमा तेस्रो मुलुक निर्यात हुँदै आएको छुर्पीको निर्यात चालु आवको ६ महिनाको अवधिमा गत आवको सोही अवधिको तुलनामा ६६.२ प्रतिशतले वृद्धि भएको हो ।
चालु आवको ६ महिनामा ७६ करोड ५ लाख ३ हजार रुपैयाँ मूल्यबराबरको ४ लाख ३२ हजार ४०५ केजी छुर्पी निर्यात भएको छ । गत आवको सोही अवधिमा ४५ करोड ७६ लाख ३४ हजार रुपैयाँ मूल्यबराबरको २ लाख ६६ हजार २४३ केजी छुर्पी निर्यात भएको भन्सारले जनाएको छ ।










