शिलांग: राज्यको गारो हिल्स क्षेत्रमा भएको हिंसापछि लगाइएको कर्फ्युमा बिहीबार आंशिक रूपमा ढील दिइएको छ। अधिकारीहरूका अनुसार स्थानीय बासिन्दालाई आवश्यक वस्तु खरिद गर्न समय उपलब्ध गराउन कर्फ्यु केही घण्टाका लागि हटाइएको हो।
ईस्ट गारो हिल्स जिल्लामा बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म पाँच घण्टाका लागि कर्फ्यु हटाइएको छ भने वेस्ट गारो हिल्स जिल्लामा दिउँसो २ बजेदेखि बेलुका ४ बजेसम्म दुई घण्टाका लागि ढील दिइएको बताइएको छ।
गारो हिल्स स्वायत्त जिल्ला परिषद् चुनावलाई लिएर भएको विरोध प्रदर्शन हिंसात्मक बनेपछि प्रशासनले कर्फ्यु लागू गरेको थियो। प्रदर्शनकारीहरूले गैर–गारो समुदायलाई चुनावमा सहभागी गराएको भन्दै विरोध गरेका थिए।
मंगलबार चिबिनाङ क्षेत्रमा प्रहरीको गोली चल्दा दुई जनाको मृत्यु भएको थियो भने धेरै मानिस घाइते भएका थिए। हिंसाका क्रममा आगजनी र सम्पत्तिमा क्षति पुगेपछि प्रशासनले थप सुरक्षा बल परिचालन गरेको छ। सेनाका पाँच टुकडी तैनाथ गरिएका छन्, जसमध्ये तीन तुरा र दुई चिबिनाङ क्षेत्रमा छन्।
यसबीच मेघालयका मुख्यमन्त्री कोनराड संगमा ले बिहीबार तुरा क्षेत्रको भ्रमण गर्दै सुरक्षा अवस्थाको समीक्षा गरेका छन्। उनले आगजनीबाट क्षति पुगेका पसल तथा बजार क्षेत्रको पनि निरीक्षण गरेका थिए।
मुख्यमन्त्री संगमाले राष्ट्रिय पीपुल्स पार्टीको कार्यालयमा भएको आक्रमणलाई दुर्भाग्यपूर्ण घटना भन्दै दोषीमाथि कडा कारबाही गरिने बताएका छन्। साथै गारो हिल्स स्वायत्त जिल्ला परिषद् चुनाव स्थगित गरिएको र पाँच जिल्लामा मोबाइल इन्टरनेट सेवा अस्थायी रूपमा बन्द गरिएको प्रशासनले जनाएको छ।









