मस्कोः रुसको राजधानी मस्कोमा अज्ञात आक्रमणकारीले सैन्य गुप्तचर विभागका प्रथम उपप्रमुख लेफ्टिनेन्ट जनरल भ्लादिमिर एलेक्सेएभमाथि गोली प्रहार गरेका छन्। घटनामा उनी गम्भीर घाइते भएका छन् र हाल मस्कोको एक अस्पतालमा उपचाररत छन्।
रुसी अनुसन्धान समितिकी प्रवक्ता स्वेतलाना पेत्रेन्कोका अनुसार मस्कोको उत्तर–पश्चिम क्षेत्रमा रहेको एउटा अपार्टमेन्टमा एलेक्सेएभमाथि गोली हानिएको हो। आक्रमणकारीको पहिचान तथा घटनापछाडिको कारणबारे हालसम्म खुलाइएको छैन।
एलेक्सेएभ सन् २०११ देखि रुसको सैन्य गुप्तचर एजेन्सीका प्रथम उपप्रमुखका रूपमा कार्यरत छन्। सिरियामा रुसी सैन्य अभियानमा महत्वपूर्ण भूमिका खेलेको भन्दै उनलाई ‘हिरो अफ रसिया’ पदक प्रदान गरिएको थियो। यो घटना युक्रेन युद्ध अन्त्यका लागि अबुधाबीमा रुसी, युक्रेनी र अमेरिकी वार्ताकारबीच सम्पन्न दुईदिने वार्ताको भोलिपल्ट भएको हो।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले राष्ट्रपति भ्लादिमिर पुटिनलाई घटनाबारे जानकारी दिइसकिएको बताएका छन्। युक्रेनसँगको युद्धपछि रुसमा भएका विभिन्न उच्च सैन्य अधिकारीमाथिका आक्रमणका लागि मस्कोले किभलाई दोष लगाउँदै आएको छ। युक्रेनले यस घटनाबारे हालसम्म कुनै प्रतिक्रिया दिएको छैन।
गत केही वर्षयता मस्कोमा थुप्रै वरिष्ठ रुसी सैन्य अधिकारीहरू हत्या तथा विस्फोटमा परेका छन्, जसले राजधानीको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।










