मछिन्द्रको कठिन जित, सेमिफाइनलमा आर्मीको भेट

IMG-20260212-WA0106

बिर्तामोड(नेपाल): राष्ट्रिय खेलाडी सम्मिलित मछिन्द्र फुटबल क्लबले मलेसियाको एन पेनाङ फुटबल क्लबलाई २-१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। जितसँगै मछिन्द्रले त्रिभुवन आर्मी फुटबल क्लबसँगको भेट पक्का गरेको हो।
सुरुवाती अग्रता लिएको मछिन्द्रले दोस्रो हाफमा मलेसियाको दबाब झेले पनि अग्रता जोगाउन सफल भयो। दोस्रो हाफको अधिकांश समय बल पोजिसनमा राखे पनि मलेसियाले पाएका अवसर सदुपयोग गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिएको छ।
खेलको १९औँ मिनेटमा मछिन्द्रले अग्रता लियो। डिबक्सभित्र विपक्षी डिफेन्डरले क्लियर गर्न नसकेको बललाई सनिश श्रेष्ठले गोलमा परिणत गरे। गोलकिपरको हातबाट फुत्किएको बल मलेसियाका खेलाडीलाई टच हुँदै जाली चुमेको थियो।
८०औँ मिनेटमा मछिन्द्रले अग्रता दोब्बर बनायो। विदेशी खेलाडी जोनाथन जोरिल्लाले डिफेन्डर मार्टिन डामिलोको खुट्टाबाट फुत्किएको बल चिप गर्दै गोल गरे।
मलेसियाका लागि ६०औँ मिनेटमा जोन जिडेइनाले एक गोल फर्काए। मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठको हातबाट फुत्किएको बललाई उनले गोलमा परिणत गरेका थिए।
३५औँ मिनेटमा प्रदीप बुढाथोकीले वान–भर्सेस–वान अवसर गुमाउँदा मछिन्द्रले गोलअन्तर बढाउने मौका चुकायो। ८८औँ मिनेटमा देवेन्द्र तामाङको प्रहार क्रसबारमा लागेर फर्किँदा पनि मछिन्द्र थप गोलबाट वञ्चित रह्यो। उता, डेभिड ओलाएको प्रहार विशाल श्रेष्ठले रोकेपछि मलेसिया बराबरी गोल गर्न असफल रह्यो। अतिरिक्त समयमा जिडेइनाको प्रहार पोस्टमा लागेर फर्किँदा मलेसियाको कमब्याक प्रयास विफल भयो।
खेलको ‘प्लेयर अफ द म्याच’ मछिन्द्रका जोनाथन जोरिल्ला घोषित भए। उनले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
शुक्रबारको पहिलो सेमिफाइनल खेल आयोजक झापा–११ एफसी र सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबबीच हुनेछ।
यसैबीच, प्रतियोगितामा बिर्तामोडको महेन्द्ररत्न स्टोर्सले प्रत्येक दिन टिकट लिएर खेल हेर्ने दर्शकमध्ये एकजनालाई एकथान टेलिभिजन प्रदान गर्दै आएको छ। पहिलो दिनदेखि फाइनलसम्म टिकट लिने एक दर्शकलाई यामाहाको स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडीले यामाहा कम्पनीको मोटरसाइकल पाउनेछ। विधागततर्फ उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। फाइनल खेल १६ फरवरी गते हुनेछ।

About Author

Advertisement