नयाँ दिल्ली: भारत–अमेरिका व्यापार सम्झौताको विरोधमा विपक्षी सांसदहरूले बिहीबार संसद परिसरमा प्रदर्शन गर्दै सरकारमाथि भारतीय हितको “समर्पण” गरेको आरोप लगाएका छन्।
कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगे, पार्टी महासचिव केसी वेणुगोपाल र जयराम रमेश, द्रमुक नेता टी.आर. बालु, समाजवादी पार्टीका सांसद धर्मेन्द्र यादव र जया बच्चन, भाकपा (माले) लिबरेशनका सांसद सुदामा प्रसादलगायत अन्य नेताहरूले संसदको मकर द्वार नजिक विरोध प्रदर्शन गरेका थिए।
प्रदर्शनका क्रममा विपक्षी सांसदहरूले ‘ट्र्याप डिल’ लेखिएको ठूलो ब्यानर बोकेका थिए। साथै ‘नरेन्द्र सरेंडर’ लेखिएका पोस्टर पनि प्रदर्शन गरिएका थिए। उनीहरूले “देश बेच्न बन्द गर” जस्ता नाराबाजी गरेका थिए। पछि कांग्रेस महासचिव प्रियंका गांधी वाड्रा पनि अन्य सांसदहरूसँगै मकर द्वारको सिँढीमा उभिएर सम्झौताविरुद्ध प्रदर्शनमा सहभागी भइन्।
लोकसभाको कार्यवाही स्थगित
विपक्षको हंगामाका कारण लोकसभाको बैठक प्रभावित भयो। बैठक सुरु भएको केही मिनेटमै विपक्षी सदस्यहरू अमेरिका–भारत व्यापार सम्झौताविरुद्ध नाराबाजी गर्दै सभामुखतर्फ अगाडि बढेका थिए।
पीठासीन सभापति कृष्णा प्रसाद तेन्नेटीले प्रश्नकाल सुरु गराए पनि निरन्तर नाराबाजीका कारण कार्यवाही सुचारु हुन सकेन। कांग्रेसकी सांसद प्रभा मल्लिकार्जुनले पूरक प्रश्न सोधेकी थिइन्, जसको जवाफ ऊर्जा राज्यमन्त्री श्रीपद नाइकले दिएका थिए।
सभापतिले विपक्षी सदस्यहरूलाई नाराबाजी रोक्न र सदन सञ्चालन हुन दिन आग्रह गरे। उनले तख्ती प्रदर्शन गर्नु सदनको नियमविरुद्ध रहेको पनि उल्लेख गरे। हंगामा नरोकिएपछि बिहान ११:०७ बजे लोकसभाको कार्यवाही दिउँसो १२ बजेसम्मका लागि स्थगित गरिएको थियो।









