भारतीय हकीमा अल्पकालिक भूमिकाको निम्ति तयार रोलेण्ट ओल्टमेन्स

IMG-20250903-WA0124

राजगीर: भारतीय पुरुष हकी टीमका पूर्व हाई परफर्मेन्स निदेशक तथा मुख्य प्रशिक्षक नीदरल्याण्डका रोलेण्ट ओल्टमेन्स फेरि भारतमा काम गर्न तयार छन् तर उनी पूर्णकालिक जिम्मेवारी चाहिँ लिन चाहँदैनन्। भारतीय टीमसँग ५ साल हाई परफर्मेन्स निदेशक र मुख्य प्रशिक्षकको रूपमा काम गर्ने ७१ वर्षीय ओल्टमेन्सलाई लगातार खराब प्रदर्शनले गर्दा २०१७-मा पदबाट हटाइएको थियो। त्यस समय उनले भारतमा काम गर्नु सजिलो नरहेको बताएका थिए। बिहारको राजगीरमा जारी एशिया कपमा चीनको टीमसँग आउने ओल्टमेन्सले बताएअनुसार, उनी पूर्णकालिक भूमिका चाहँदैनन् तर कुनै पनि राष्ट्रिय टीमसँग सल्लाहकारको रूपमा अल्पकालिक भूमिकाको निम्ति तयार छन्। उनले भने, पूर्णकालिक प्रशिक्षकको रूपमा लामो यात्राहरूमा जानु पर्छ अनि लामो अनुबन्ध पनि हुन्छ। अहिले म त्यो चाहदिनँ। मेरो ध्यान अल्पकालिक अनुबन्धहरूमा रहेको छ। भारतीय टीमसँग भविष्यमा काम गर्ने प्रसंगमा ओल्टमेन्सले भने, अहिले केही भन्न सकिँदैन। भारतीय टीमबाहेक ओल्टमेन्सले मलेशियाई र पाकिस्तानी टीमसँग काम गरिसकेका छन्। ओल्टमेन्सले एशिया कपमा भारतलाई प्रबल दावेदार बताए पनि भारतीय हकीबारे अधिक बोल्न अस्वीकार गरे। उनले भने, भारत एशियाको सर्वश्रेष्ठ टीम हो। यसबाहेक म भारतबारे अधिक बोल्न चाहदिनँ। यस टीममा सफलता हासिल गर्न भोक छ।

About Author

Advertisement