भारतीय टीमको निम्ति बीसीसीआईद्वारा १३१ करोड़ रुपियाँको पुरस्कार राशि घोषणा

IMG-20260310-WA0076

मुम्बई: भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले टी२० वर्ल्ड कपमा ऐतिहासिक जीत दर्ता गर्ने भारतीय टीमको निम्ति ठूलो पुरस्कार राशिको घोषणा गरेको छ। बोर्डले मंगलवार पूरा भारतीय टीमलाई १३१ करोड़ रुपियाँको नगद पुरस्कार दिने घोषणा गऱ्यो। यो पुरस्कार खेलाड़ीहरूका साथमा कोचिंग स्टाफ र टीमका अन्य सहयोगी स्टाफहरूबीच बाँड़िनेछ। रिपोर्टअनुसार, यस राशिमा १५ जना खेलाड़ी, कोचिंग स्टाफ र अन्य सपोर्ट स्टाफहरूलाई सामेल गरिएको छ। यस पुरस्कार राशिको ठूलो हिस्सा खेलाड़ीहरूलाई प्राप्त हुनेछ जबकि सपोर्ट स्टाफलाई प्राप्त हुने राशि उनीहरूका जिम्मेवारी र पद अनुसार तय गरिनेछ। यसअघि रोहित शर्माको कप्तानीमा भारतले २०२४-मा टी२० वर्ल्ड कप जित्दा बोर्डले १२५ करोड़ रुपियाँको पुरस्कार राशि दिएको थियो। यसरी यसपाली पुरस्कार राशिमा ६ करोड़ रुपियाँको बढ़ोत्तरी गरिएको छ। बीसीसीआई सचिव देवजीत सैकियाले टीमलाई बधाई दिँदै भनेका छन्, बोर्ड खेलाड़ीहरू, सपोर्ट स्टाफ र चयनकर्ताहरूलाई यस ऐतिहासिक उपलब्धिको निम्ति एकपल्ट फेरि बधाई अनि भविष्यमा निरन्तर सफलताको निम्ति शुभकामना दिन्छ। भारतले आइतवार अहमदाबादमा खेलिएको फाइनलमा न्यूजील्याण्डलाई ९६ रनले पराजित गरी टी२० वर्ल्ड कपको खिताब जितेको थियो। टुर्नामेण्टको इतिहासमा यो भारतको लगातार दोस्रो अनि समग्रमा तेस्रो खिताब हो।

About Author

Advertisement