मालदा: भारतमा लामो दूरीको यात्रालाई सहज बनाउने उद्देश्यले पहिलो वन्दे भारत स्लीपर रेल सेवा सुरु गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम बंगालको मालदाबाट उक्त रेललाई हरियो झण्डा देखाएर उद्घाटन गरेका हुन्।
यो रेल सेवा पश्चिम बंगालको हावडा र असमको कामाख्या बीच सञ्चालन हुनेछ। १६ डब्बा रहेको यस रेलमा एकपटकमा ८२३ यात्रुले यात्रा गर्न सक्नेछन्। रेलको अधिकतम गति प्रतिघण्टा १८० किलोमिटर रहेको छ।
रेलमन्त्री अश्विनी वैष्णव उद्घाटनअघि नै मालदा पुगेका थिए र तयारीको निरीक्षण गरेका थिए। यो पूर्ण रूपमा वातानुकूलित स्लीपर रेल हो, जसले यात्रुलाई छिटो, सुरक्षित र आरामदायी सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ।
भाडादर कति छ?
हावडा–कामाख्या मार्गमा थर्ड एसीको भाडा २,२९९ रुपैयाँ, सेकेन्ड एसीको २,९७० रुपैयाँ र फर्स्ट एसीको ३,६४० रुपैयाँ तोकिएको छ। हावडा–न्यू जलपाइगुडी र मालदा टाउनका लागि पनि फरक–फरक भाडा दर लागू गरिएको छ।
प्रधानमन्त्री मोदी जनवरी १७ र १८ मा पश्चिम बंगाल र असमको दुईदिने भ्रमणमा छन्। यस क्रममा उनले अमृत भारत एक्सप्रेससहित विभिन्न विकास परियोजनाहरूको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। यी रेल सेवाले पूर्वी र उत्तर–पूर्वी भारतको सम्पर्क र विकासलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।









