भद्रपुर: १५ वर्षपछि झापाको भद्रपुरमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता पुनः आयोजना हुँदैछ। कोशी पाथीभरा इन्डो–नेपाल टी–२० क्रिकेट च्याम्पियनसिपमा भारतको सिक्किम राज्यको स्नो लायन टिम मुख्य आकर्षणका रूपमा सहभागी हुने भएको छ।
मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा माघ २१ गतेदेखि सुरु हुने प्रतियोगितामा नेपाल र भारतका गरी आठ टोलीबीच प्रतिस्पर्धा हुनेछ। भारततर्फ सिक्किमको स्नो लायन टिमसँगै गुवाहाटीको राइनोल्यान्ड क्रिकेट एकेडेमी, लखनऊको ग्लोबल स्टार क्रिकेट क्लब र नयाँ दिल्लीको क्रिकेट कोचिङ उपाध्याय एकेडेमी सहभागी हुनेछन्।
आयोजक समितिका संयोजक गौरव सुब्बा (मनोज) का अनुसार स्नो लायन टिममा रणजी ट्रफी खेलिसकेका अनुभवी खेलाडीहरू समावेश छन्। यसले प्रतियोगिताको प्रतिस्पर्धात्मक स्तर उच्च बनाउने विश्वास आयोजकको छ।
करिब आठ हजार दर्शक अट्ने क्षमताको मैदानमा प्रतियोगिता अवधिभर दर्शकबाट कुनै पनि गेट शुल्क नलिइने आयोजकले जनाएको छ। प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ।
एक करोड २२ लाख रुपैयाँ लागत अनुमान गरिएको प्रतियोगितामा विजेता टोलीले नगद पाँच लाख रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले नगद तीन लाख रुपैयाँ, ट्रफी र मेडल पाउनेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद ५१ हजार रुपैयाँ प्रदान गरिनेछ।











