पुणे: पुणेमा आयोजित प्रतिष्ठित ट्रेल रनिङ प्रतियोगिता ‘बुर्ज २६’ मा सिक्किमका धावकहरूले उत्कृष्ट प्रदर्शन गर्दै राज्यको नाम रोशन गरेका छन्। प्रतियोगितामा सिक्किमकी ट्रेल रनर शान्ति राईले १०० किलोमिटर दौडमा पहिलो स्थान हासिल गरेकी छन्।
यसैगरी, अर्का सिक्किमी धावक पेम्बा छिरिङ शेर्पाले ५० किलोमिटर दौडमा तेस्रो स्थान प्राप्त गर्न सफल भएका छन्। यी दुवै धावकहरू सिक्किमका चर्चित धावक तथा ‘म्याराथन म्यान’ का रूपमा परिचित अमर सुब्बाका विद्यार्थी हुन्।
अन्तरराष्ट्रिय ट्रेल रनिङ एसोसिएशन (आईटीआरए) र यूटीएमबी (अल्ट्रा–ट्रेल डु मोन्ट–ब्लाङ्क) सँगको सहकार्यमा आयोजना गरिएको बुर्ज २६ प्रतियोगितामा भारतसहित विभिन्न देशका अनुभवी धावकहरूको सहभागिता रहेको थियो।
सिक्किमका धावकहरूको यस उपलब्धिलाई राज्यमा बढ्दो ट्रेल रनिङ संस्कृतिको सकारात्मक संकेतका रूपमा हेरिएको छ। प्रशिक्षक अमर सुब्बाको मार्गदर्शनमा निरन्तर अभ्यास र अनुशासनले अन्तरराष्ट्रिय स्तरमा समेत प्रतिस्पर्धा गर्न सक्ने क्षमताको विकास भइरहेको खेलकर्मीहरूको भनाइ छ।









