काठमाडौँ: काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले पदबाट राजीनामा दिएका छन्। उनले आज महानगरपालिकाकी उप–प्रमुख सुनिता डंगोलसमक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।
उपप्रमुखको कार्यालयमा दर्ता भएको उक्त राजीनामा पत्रमा साहले नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा काठमाडौँ महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम स्वेच्छाले राजीनामा दिएको उल्लेख गरेका छन् ।
साहले राजीनामा पत्रमा आजैदेखि लागू हुने गरी राजीनामा पेस गरेको स्पष्ट पारेका छन्। राजीनामापछि बालेन तामझामसहित रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीस्थित घण्टीघर पुगे। कार्यालय प्रवेशको क्रममा रास्वपाका नेता तथा कार्यकर्ताहरूले उनलाई स्वागत गरेका थिए ।
यही पुस १४ गते रास्वपामा समाहित भएका बालेन रास्वपाको वरिष्ठ नेताको रुपमा आज बस्ने केन्द्रीय समिति बैठकमा सहभागी हुनेछन् । बैठक सकिए लगत्तै बालेन, सभापति रवि लामिछाने लगायत शीर्ष नेताहरू साँझ मधेस प्रदेशको राजधानी जनकपुर जाने कार्यक्रम छ ।
राजीनामा पठाए लगत्तै बालेन रास्वपा पार्टी कार्यालय पुगेर पदभार ग्रहण गरेका छन् । रास्वपा प्रवेश गरेको २१ दिनपछि आइतबार औपचारिक रूपमा केन्द्रीय कार्यालय घण्टीघर पुगेर बालेनले पदभार ग्रहण गरेका हुन् ।
घण्टीघरमा उनलाई रास्वपा सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याललगायतले स्वागत गरे । पदभार ग्रहण गरेलगत्तै शाह पार्टी कार्यालयबाट निस्किएका छन् ।










